उखुकिसानको विलौना– बक्यौता नपाए आत्महत्या गर्छौं !

बाह्रखरी

काठमाडौँ

अक्षर काका

सेतै फुलेको कपाल । सेतै दाह्री । आँखीभौं पनि उसैगरी राँटा नराखी फुलेका छन् । दुई पाइला हिँड्न हुँदैन, दम बढ्न थाल्छ । छाती घ्यार् घ्यार् बज्छ । दृष्टि पनि धमिलिँदै गएका छन् । नजिक आएमात्रै मानिस, आकृति ठम्याउन सक्छन् । नत्र भेउ पाउन हम्मेहम्मे पर्छ ।

७० थान हिउँद खाइसकेका, सर्लाही साविक हथिऔल–७, बलरा नगरपालिका– २ का धनराज सहनीलाई जीवनको उत्तराद्र्धमा आन्दोलित हुने कुनै रहर छैन । न माइतीघर मण्डलामा भेला भएर समवेत स्वरमा जिन्दावाद र मुर्दावादको नारामा एकाकार हुन नै रहर छ । हिमतुल्य सडकमा पलेँटी कस्दै धर्ना बस्न पनि त रहर नहुँदो हो । तर, १५ दिनदेखि सडक–सङ्घर्ष उनको निर्मम बाध्यता बनेको छ । 

अन्नपूर्ण सुगर एण्ड जनरल इन्डष्ट्रिजले सात वर्षदेखि उखुको बक्यौता नदिएपछि मालिकहरूको बुहार्तन खप्न नसकेर उनी सरकार खोज्दै माइतीघर आइपुगेका छन् । र, दिनहुँ आन्दोलन गर्न अभिशप्त छन् ।

“गाउँका दाजुभाइले काठमाडौं जाउँ, आन्दोलन नगरी पैसा उठ्ने भयो भने,” धनराज आफ्नै लवजमा बोल्छन्, “यहाँ आएको पनि आज १५ दिन भइसक्यो । पैसा पाइन्छ जस्तो लाग्दैन । हाम्रो कुरा सुन्ने सरकार छ जस्तो पनि लागेन !”

प्रकाशित मिति: : 2020-12-27 13:22:00

प्रतिकृया दिनुहोस्