पूर्णिमा बिक
सेतै फुलेको लामो दारी, उस्तै कपाल पनि । चाउरी परेका गाला । पातलो जीउडाल, हँसिलो अनुहार भएका उनी मःमः बाँडिरहेका छन्, उनी हुन किरण श्रेष्ठ । उनलाई सबैले किरण दाइ’ भनेर बोलाउँछन् ।
उमेरले आधा शताब्दी काटेका भए पनि काम गराइ हेर्दा निक्कै जोशिलो देखिन्छन्। घरी मःमः बनाउँदै त घरी ग्राहकलाई मःमः दिइरहेका छन्। उनको हात एकछिन खालि हुन्न । उनलाई बोल्न समेत फुर्सद हुन्न । फुर्सद पनि होस् पनि कसरी, उनी निकै व्यस्त मःमः व्यवसायी जो हुन्।
उमेरमा ५८ वर्ष पार गरेका उनले ४८ वर्ष त मःमः व्यवसायमा नै बिताए । विगत ४८ वर्षदेखि उनी यस्तै व्यस्त छन्। १० वर्षको हुदाँदेखि नै सानिमाको पसलमा काममा लागे। त्यो समय उनको खेल्ने कुद्ने थियो । तर उनको खेल्ने कुद्ने उमेर पारिवारिक परिबन्धमा पर्यो। त्यो परिबन्धलाई तोड्न उनले सानिमाको पसलमा निकै मेहनत गरे । जसरी मेहनत गरेका थिए, त्यसरी उनले चाँडै मःमः को कामका साथै अन्य काम पनि सिके ।
उनी कामसँगै पढ्थे पनि । काम सकेर बेलुका नन्दी रात्रि स्कूल पढ्न जान्थे। जसोतसो एसएलसीसम्म पास गरे । तर जीवनमा आइरहेका उतारचढावले पढाइ नै माया मार्नु पर्यो। उनको पढाइ बिचमै रोकियो ।