भटमास तेलको व्यापारमा नेपाललाई एक अर्ब घाटा, उद्योगी भन्छन्- ५० प्रतिशतमात्रै निकासी हुन्छ

देखापढी

काठमाडौँ

निकेश खत्री

चालु आर्थिक वर्ष २०७७/७८ को पाँच महिनामा सबैभन्दा धेरै निकासी भएको भटमासको तेलको व्यापारमा नेपालले घाटा बेहोर्दै आएको देखिएको छ।

भन्सार विभागले सार्वजनिक गरेको साउन–मङ्सिर महिनाको तथ्यांकअनुसार नेपाललाई भटमास तेलको अन्तर्राष्ट्रिय व्यापारमा एक अर्ब १७ करोड रूपैयाँ घाटा देखिएको हो।

उक्त अवधिमा नेपालले विभिन्न मुलुकमा १३ अर्ब ५० करोड रूपैयाँ बराबरको भटमास तेल निकासी गरेको छ। यद्यपि, यही अवधिमा नेपालले विदेशबाट १४ अर्ब ६७ करोड रूपैयाँ बराबरको भटमासको कच्चा तेल आयात गरेको छ।

यसरी, पाँच महिनामा भएको भटमास तेलको आयात/निर्यातलाई केलाउँदा अन्तर्राष्ट्रिय व्यापार नेपाल घाटामा रहेको देखिएको हो।

विदेशबाट नेपाली व्यापारीहरुले कच्चा तेल ल्याउने र त्यसलाई प्रशोधन गरेर विदेशतर्फ निकासी गर्दै आएका छन्। कच्चा तेल नेपालमा ल्याएर त्यसमा मूल्यवृद्धि गरेपछि मात्रै निकासी हुँदै आएको व्यापारीहरुको भनाइ छ।

विदेशबाट कच्चा तेल आयात गरेर प्रशोधनपछि निकासी गर्दै उद्योगी प्रदीप मुरारकाले आयात हुने सबै परिमाण निकासी नहुने बताए।

उनले भने, “आयात भएकोमध्य ५० प्रतिशत तेल नेपालमै खपत हुन्छ। बाँकी ५० प्रतिशत तेल मात्रै नेपालबाट निकासी हुन्छ।”

प्रकाशित मिति: : 2020-12-25 12:13:00

प्रतिकृया दिनुहोस्