राष्ट्रिय ट्रमा सेन्टरको सातौँ तला । कोठा नम्बर ७०८ ।
कोठाको दाहिने कुनामा बलिरहेछ दुइटा दियो । दियोसँगै जलेको मन लिएर गंगामाया अधिकारी छेउमै बसिरहेकी छन् ।
मुजैमुजा परेको अनुहार । साथमा न श्रीमान् छन्, न छोरा, न त न्याय नै छ । छन् त केवल कोठाभरि श्रीमान्, छोरा र भगवान्का बग्रेल्ती तस्वीर । ती बोल्दैनन् । एकोहोरो बोल्छिन् त गंगामाया । घरि श्रीमान् र छोराको तस्वीरमा हेर्छिन् । घरि टोलाउँछिन् । विक्षिप्त देखिन्छिन् गंगामाया ।
यस्ताे लाग्छ, उनलाई राज्यकाे भरोसा फिटिक्कै छैन । त्यसैले कोठाभरि भगवान्का तस्वीरहरू राखेकी छन् । राज्यले सत्य र धर्म प्रत्याभूत गराउन नसके पनि भगवान्को तस्वीरले भने उनमा केही आशा जगाउँछ ।
बिहान उठ्नेबित्तिकै धुपबत्ती बाल्छिन् । बिहान-बेलुका छोरा र श्रीमान्को तस्वीर हेरेर न्यायका लागि जप गर्छिन् । ६१ वर्षीया गंगामायालाई हेर्दा लाग्छ, ट्रमा सेन्टरमा बसिरहेकी उनी आफैँमा एउटा ‘ट्रमा’ हुन् । चाेटैचोटकी पुञ्ज हुन् ।
द्वन्द्वकालमा मारिएका छोरा कृष्णप्रसाद र न्याय माग्दामाग्दै अनशनरत अवस्थामै प्राण त्यागेका श्रीमान् नन्दप्रसाद अधिकारीका तस्वीरमा लेखिएको छ, ‘खोइ न्याय ?’
त्यसो त यो प्रश्नको उत्तर तस्वीरमा होइन, तग्दिरमा पाउने अभिलाषा छ, गंगामायाको ।
त्यही झिनो आशाको त्यान्द्रो समाएर हालै मात्र उनले १२औँ पटक पुनः अनशन सुरु गरेकी छन् । वर्षौं बिते, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरबाट आश्वासन धेरै पाइन् उनले । तर, न्याय पाएकी छैनन् ।
‘मलाई दुनियाँभरका आश्वासन दिइयो । अब आश्वासनले हुँदैन । संसारमा कहीँ नभएको कुरा मागेको होइन’, आँखाभरि आँसु पार्दै गंगामाया भन्छिन्, ‘मैले त केवल न्याय मागेकी हुँ ।’
न्याय माग्दामाग्दै अनशनकै क्रममा छ वर्षअघि श्रीमान् नन्दप्रसादको प्राण गयो । उनको शव हाल महाराजगञ्जस्थित शिक्षण अस्पतालको सामूहिक शवकक्षमा कैद छ । ढलेको नन्दप्रसादको शरीर पनि न्यायका लागि अनशनमै छ ।