एक–दुुई जना मात्र होइन, घरको पाँच छोराछोरी नै सुस्तमनस्थिति भएपछि घरपरिवारको अवस्था के होला? तपाईहरूले सजिलै अनुमान लगाउन सक्नुुहुन्छ।
मोरङ रतुवामाई—८ सिकिम्मे टोलकी सिर्जना घिमिरे अहिले यस्तै अवस्थाबाट गुज्रिरहेकी छिन्।
श्रीमान् तुलसीराम ढुङ्गाना हुँदा केहि सहज महसुस गरेकी सृजना श्रीमान्को निधनपछि एक्लो परेकी छिन् र उनलाई एक्लै सुस्तमनस्थितिका छोराछोरीको हेरचाह गर्नु परेको छ।
सिर्जनाका पाँच अपाङ्ग छोराछोरीलाई कुनै पनि संस्थाले अहिलेसम्म फर्केर हेरेका छैनन्। ढुङगाना परिवारका २ छोरा र ३ छोरीले कष्टपूर्ण जीवन बिताउनु परेको छ।
शारीरिक रुपमा अपाङ्ग भएका ३८ वर्षीय निर्मला, ३६ वर्षीय निर्मल, ३२ वर्षीय उमेश, २३ वर्षीय पार्वता र २२ वर्षीय गोमाले सानै उमेरदेखि यस्तो कष्टपूर्ण जीवन जिउनु परिरहेको छ। जन्मेको केही महिनापछि बाबुआमाले आफ्ना छोराछोरी अरु जस्तै सामान्य नहुने बुझिसकेका थिए। भनिन्छ, छोराछोरी बुढेसकालका लौरा हुन्। तर यी ढुङ्गाना दम्पतीको हकमा यो उखान उल्टो भएको छ। आमा सिर्जनाको दिनरात अपाङ्ग छोराछोरीको स्याहार गर्दैमा बित्छ।
शारीरिक तथा मानसिकरुपमा समेत अपाङ्ग बनेका छोराछोरीले जे भेट्यो त्यही खाने, मानिसले खाने र जनावरले खानेबस्तु नचिन्ने, घरका सामान तोडफोड गरिदिने र जहाँ पायो त्यही बस्ने, दिसा, पिसाब गरेको पनि थाहा नपाउने आमा सिर्जना ढुङ्गानाले बताइन्।
‘५ अपाङ्ग छोराछोरी स्याहार्दै दिन जान्छ’, आमा सिर्जनाले गहँभरि आँशु पार्दै भनिन्, पाउनापात कहिकतै निस्कन नै मिल्दैन।’
अपाङ्ग छोराछोरी स्याहार्ने आमा सृजना पनि आफैंमा स्वस्थ छैनन्। ‘शरीरमा बल हराइसकेको छ, मेरो पाठेघरको अप्रेशन गरिएको छ, स्वयम आफै रोगी भएकाले छोराछोरी सम्हाल्न गाह्रो भयो,’ सिर्जनाले भनिन्।
पाँचै जना छोराछोरी जन्मजात सुस्त मनस्थितिका छन्। आवाज निकाले पनि बोलेको प्रष्ट बुझिन्न। सिर्जनाले छोराछोरीका लागि भएभरका सम्पत्ति सकिसकेका छन्। खाना खुवाएदेखि दिसा, पिसाब गर्दासमेत अपाङ्ग छोराछोरीलाई साथ दिनुपर्ने बाध्यता छ।
छोराछोरीलाई सम्हाल्दै छरछिमेक र आफन्तको निम्ता मान्न पनि जान पाउदिनन्।
‘एकछिन छोड्यो भने खानेकुरा समेत पोखिदिन्छन्, खाना पनि समातेर खुवाउनु पर्छ’, सिर्जनाले भनिन्, ‘पाँच जनालाई एकैपटक खुवाउन सकिन्न, अब त ज्यानमा तागत पनि छैन, अबका दिनमा यिनलाई कसले स्याहार गरिदेला दैव।’
सरकारबाट सहयोग पाए छोराछोरीलाई पाल्न सहज हुने ढुङ्गाना दम्पत्तिले आशा पालेका छन्। ‘हाम्रा छोराछोरीको बिजोग देखेर कठैबरी भन्ने मात्र छन्’, सिर्जनाले भनिन्, ‘संघसंस्थाका व्यक्ति चिल्ला गाडी लिएर आउँछन्, सहयोगका मिठा लड्डु बाँड्छन् तर आजसम्म कसैले एक पैसा सहयोग गरेका छैनन्।’
यसैबीच २९ औं विश्व अपाङ्ग दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइरहँदा अपाङ्ग परिवार भने बेखबर छ। अपाङ्गको हितमा काम गर्ने संस्थाहरू ब्यानर र प्लेकार्डसहित सडकमा निस्किरहँदा उनीहरूले भोग्नु परेको दुःखमा भने कसैले मलम लगाउन चासो दिएको छैन।
अपाङ्गको क्षेत्रमा क्रियाशील संस्थाले लाखौं बजेट खर्चेर मनाइरहेका दिवसका समाचार रेडियो टिभीमा हेर्दा उनीहरूलाई आलो घाउँमा नुनचुक छर्केजस्तै पीडा हुन्छ। सिर्जना ढुङ्गानाका पाँच अपाङ्ग छोराछोरीलाई कुनै पनि संस्थाले अहिलेसम्म फर्केर हेरेका छैनन्।