मिरियम रोड्रिगेजले पिस्तोल आफ्नो पर्समा घुसारिन् र बेतोडले दौडिन थालिन्।
अमेरिकाको टेक्सास जाने पुलमा एकाबिहानैदेखि बाक्लो भीड थियो। मिरियम त्यही भीडमा हावासरी हुत्तिँदै थिइन्। उनी बेलाबेला थामिएर लामो–लामो सास फेर्थिन् र पर्स छामछुम पार्थिन्। उनको हातमा एउटा तस्बिर पनि थियो, जसलाई बारम्बार नियाल्दै थिइन्।
यो तस्बिर तिनै व्यक्तिको हो, जसलाई उनी आफ्नो निशाना बनाउँदै छिन्।
मिरियमले तस्बिरका व्यक्तिलाई पछ्याउन थालेको वर्षदिन बितिसक्यो। उनले ती व्यक्तिको सुइँको पाउन के–के मात्र गरिनन्! अनलाइन चियो गरिन्। भेष बदलेर उनको परिवारका सदस्यसँग नजिक भइन्। यहाँसम्म कि, ती व्यक्ति जुन 'ग्याङ’ (आपराधिक गिरोह) मा आबद्ध थिए, मिरियमले त्यही ग्याङका अरू सदस्यसँग पनि सोधपुछ गरिन्।
आखिरमा मिरियमको वर्षदिनको धुइँपत्ताल खोजीले काम गर्यो। एकदिन एक विधवा महिलाबाट उनले खबर पाइन्, ती व्यक्ति त मेक्सिको–अमेरिकाको सीमावर्ति सहरमा फूल बेचेर बसेका रहेछन्।
जसै खबर कानमा पर्यो, मिरियमले एक पल अलमल गरिनन्। घर बस्दा लगाउने पाइजामामाथि गर्लम्म ओभरकोट भिरिन्, दमकलजस्तो गाढा रातो कपालमाथि बेसबल क्याप उनिन् र चमचमाउँदो पिस्तोल जतनसाथ पर्समा घुसारेर बेतोडले दौडिन थालिन्।
मेक्सिकोबाट टेक्सास जाने पुलमा मिरियमका आँखा फूल बेच्ने मान्छेहरूतिर सोझिएका थिए। उनी घरि आफ्नो हातमा रहेको तस्बिर हेर्थिन्, घरि भीडमा मिल्दोजुल्दो अनुहार केलाउँथिन्। फूल बेच्ने हरेक बिक्रेतासँग दाँज्दा पनि तस्बिरको मान्छे कसैगरी भेटिएन।
त्यस दिन ती व्यक्ति फूल होइन, सनग्लास बेचिरहेका रहेछन्। मिरियमका चनाखा आँखाले झलक्क देख्नेबित्तिकै उनको नापनक्सा ठम्याइहाले। उनले एकचोटि फेरि तस्बिर राम्ररी नियालिन्। वर्षदिनदेखि खोजिरहेका व्यक्ति तिनै हुन् भन्नेमा उनलाई कुनै दुबिधा भएन।
उनले बाघझैं झम्टिइन्। मिरियमलाई एकाएक अगाडि देखेपछि ती व्यक्ति सतर्क भए र बाघको पञ्जामा पर्न आँटेको शिकारजस्तो बत्तिँदै भागे।
उनी साँघुरो बाटोमा मान्छेको भीड नागबेली छिचोल्दै उम्किन चाहन्थे। तर, मिरियमको फुर्तिसामु उनको चतुर्याइँले हावा खायो।