गोधूलि समयको औरही गाउँ । घरको नगोलमा बसेको छु । सडकमा कुदिरहेका छन् साइकल, मोटरसाइकल । केही टायर गाडा, बयल गाडाहरू गन्तव्य पक्डेर लम्किरहेका छन् । गाई, गोरु फाट्टफुट्ट देखिन्छन् डगहर (धुले सडक) मा, बासतिर लम्किँदै ।
अचानक घुरको धुवाँ म बसेतिर मडारिएर आइपुग्छ । घुरको धुवाँको तिक्खर गन्ध ! सडकपारिको घर–गोठछेउमा बालिएको घुरको धुवाँ मलाई झस्काउनै नगोलसम्म आइपुगेको रहेछ ।
केहीबेर त्यही धुवाँसँगै रगमगिएँ म पनि । त्यसले मलाई मेरो किशोरवयमा पुर्यायो । झन्डै पैँतालीस वर्षअगाडि ! पैँतालीस वर्षअघि मावल गाउँमा त्यही घुरछेउ बसेर आगो तापियो । आफ्नै उमेर समूहका केटाहरूसँग अनेक रङका खेलाँची गरियो । केही सिकियो । केही नौटङ्की गरियो !
नगोलमा त्यही समय सम्झिएँ । नौटङ्की सम्झिएँ । साथीभाइ सम्झिएँ । र सम्झिएँ घुरको आगोले दिएको त्यही न्यानोपन ।