जब-जब महिलाहरुको छाउगोठमा ज्यान जान्छ, तब-तब नेपाली सञ्चार माध्यममा राँको बल्छ । तात्तातो बहस हुन्छ। त्यो बहस स्टिल तातेझैं तात्छ र सेलाउँछ पनि। फेरि बहस हुन अर्की महिलाले गोठमा ज्यान गुमाउनु पर्छ। यसकारण सञ्चार माध्यममा कुप्रथाको कारण बहस भएको भन्दा पनि मृत्युका कारण हुने बहस भन्नु उपुक्त हुन्छ।
महिनावारी प्राकृतिक जैविक प्रक्रिया हो। प्रजनन परिपक्वतासँगै अस्तित्वको निरन्तरताको सिलसिला बनेको यो कुनै दोष होइन बरु गर्वको विषय हो तर कुप्रथाको रुपमा देखिएको छुई प्रथालाई लिएर पश्चिमलाई हेयको भावमा हेरिन्छ तर छुई प्रथा त यो देशले मानिरहेको छ?
अध्ययनले भन्छ- यसमा सिंहदरबार आफैमा पनि अछुतो छैन। महिनावारीलाई हेयको भावले हेर्ने, महिनावारी भएकी महिलालाई घृणा गर्ने प्रवृत्ति गलत मात्र होइन आपराधिक पनि हो।
महिनावारीको विषयमा मानिसहरुमा प्रशस्त भ्रमपूर्ण विचार पाइन्छ। कतिपय मानिसहरु धार्मिक हिसाबले यसको व्याख्या गर्न खोज्छन्। देवता रिसाउने, मस्टो रिसाउनेजस्तो तर्क गर्छन्। हामी भन्छौं, मानिस ईश्वरको रचना हो। त्यसो हो भने महिनावारी पनि ईश्वरकै रचना हो। के आफ्नै रचनासँग ईश्वर आफैँ रिसाउने होलान् र?
वि सं १९४३ मा संसारमै पहिलो पटक नेपाली भाषाको पत्रिका ‘गोरखा भारत जीवन’ प्रकाशन पछि हालसम्म रेडियो, टिभी, अनलाइन गरी हजारौं पत्रपत्रिका र संचार माध्यमको विकास भएको छ। यी सबैको उदेश्य समाजमा विद्यमान कुसंस्कार, कुरीति, कुप्रथा, विकृति र विसंगति विरुद्ध प्रश्न गरी सभ्य समाज निर्माणमा सघाउ पुगाउने हो।
सबैजसो सञ्चार माध्यमहरुले सक्रियताका साथ काम गरिरहँदा पनि मर्यादित महिनावारीले स्थान पाएको छैन। गणितीय हिसाबले भन्नुपर्दा नेपाली संचार माध्यम स्थापनाको १३३ वर्ष बितिसकेको छ।
पछिल्लो एक दसकमा हरेक वर्षजसो कम्तिमा एक दुई जनाले छुइगोठमा ज्यान गुमाएपछि छुई प्रथाबारे छलफल र बहसले तीव्रता पाएको देखिन्छ। यो अवधिमा अछाममा मात्र १८ जना महिलाको अकालमा ज्यान गएको कुरा छापामा आए।
२०६३ माघमा अछाम पाइलकी रतनदेवी विकको छुईगोठमा सुतिरहेको अवस्थामा ज्यान गएपछि छुई प्रथा संचार माध्यममा छाएको हो। यसपछि बल्लतल्ल संचार माध्यममा बहस सुरु भयो। त्यसयता हरेक वर्ष जसो एक दुई जना महिलाको छाउगोठमा ज्यान गइरहेको छ।
प्रकृतिको पुजक मानिएको मष्टो संस्कृतिमा हिन्दुकरण भएपछि पश्चिमका छुईगोठ छुर्ईप्रथा कामय राख्ने गेटपालेको रुपमा देखिएका छन्। यस विषमा गहिरिएर अध्ययन गर्ने हो भने मष्टोका धामीहरुले बोल्ने भाषा भोटेको जस्तो हुनाले मष्टोको उत्पत्ति स्थल भोट भएको अनुमान गरिन्छ। भोटमा छुई मानिदैन। यसले मष्टो परम्पराको उत्पत्तिमा छुई प्रथा नभएको देखिन्छ। विशेषत पुरुष सत्तालाई बढवा दिने समाजले महिलालाई थप दबाउन केही टाठाबाठाले धामीलाई प्रयोग गरेर छुई मान्न लगाएको बुझ्न सकिन्छ।
धामी सामजिक नेतृत्व हो। धामीले भनेको सबैले मान्ने भएको हुनाले छुई मान्नुपर्छ भन्न लगाउनेहरु हिन्दु धर्मका टाठाबाठा भएको प्रमाण ऋषि पञ्चमी हो। ऋषि पञ्चमीलाई हिन्दु धर्मले महिलाहरु छुई हुँदा गरेको पाप पखाल्ने पर्वको रुपमा मानेको छ। जबकी मष्टो परम्पराले पाख पखाल्ने कुनै विधान बनाएको छैन।
स्त्री जातिलाई अपमान गर्ने हिन्दु धर्मका केही खराब नियमहरुलाई अमान्य बनाउनको लागि महिनावारी सम्बन्धी निर्देशिका बलियो हतियार बन्न सक्छ तर सरकारले यसलाई बनाएर कार्यान्वयन नगर्दा र देशलाई छाउगोड मुक्त बनाउने प्रभावकारी समाजिक अभियानहरु नचलाउँदाको परिणाम विभिन्न एनजीओ/आईएनजीओहरु आए।
देखावटी रुपमा उनीहरुले गरेको काम छाउपडी मुक्त गाउँ हो। छुईगोठ भत्काउने प्रयास हो। तर उनीहरुको बहिरगमनसँगै फेरी छुईगोठ बिउतिए। हालसम्म पश्चिमको प्रतिनिधित्व गर्दै नीति निर्माण तहमा पुगेका विभिन्न व्यक्तिहरुलाई यस कुराले व्यङ्ग्य गरिरहेको छ।
कालको पर्याय बनिरहेको छाउपडीले विपत्तिमा समेत दलित र सीमान्तकृत वर्ग र अझ त्यसमा पनि महिलालाई नै बढी प्रभावित पार्ने भएकाले उनीहरुको आर्थिक अवस्था प्रति सरकारको ध्यान विशेष रुपमा जानूपर्ने हो।
जनचेतनामूलक कार्यक्रमहरु टाठाबाठाहरुलाई नै दिने र कमजोरहरुको प्रतिनिधित्व नगराउनु नै सत्तामा बस्नेहरुका सिमाहरु हुन। जसले सरोकारवारहरु प्रति गम्भीर खालका प्रश्न खडा भइरहेका छन्। जसको वेवास्ता गर्नु भनेको समाजमा थप दुर्घटना निम्ताउनु हो।
मर्यादित महिनावारीबारे संचार माध्यमले खेल्ने भूमिकाबारे बुँदागत रुपमा छलफल गर्ने प्रयास गरिएको छ।
१) अज्ञानताको चिरफार
– महिनावारीको जीववैज्ञानिक पक्षको प्रचार–प्रसार गरेर यसबारेको अज्ञानताको प्रचार गर्न सकिन्छ।
२) स्वस्थ महिनावारीको वकालत
–महिनावारीको समयमा आवश्यक स्वास्थ्य सामग्री नपाएर धेरै महिलामा संक्रमण हुने गरेको छ।
–महिनावारीलाई हेयको भावले समाजले हेरिदिँदा महिलाहरुले प्याड लगायतका आवश्यक सामग्री किन्न संकोच मान्छन्।
–गाउँघरमा महिनावारी भएको बेलामा प्रयोग भएका कपडा पनि घाममा नसुकाउने, लुकाउने गरिन्छ। त्यसले गर्दा किटाणुको संक्रमण हुने डर हुन्छ।
–महिनावारीसँग जोडिएका यस्ता स्वास्थ्य समस्याको सम्बोधन गर्न मिडियाहरु आवाज बन्नसक्छन्।
–किशोरी स्वास्थ्यको पैरवी, सहज र सरल रुपमा महिनावारी स्वास्थ्यसँग सम्बन्धित सामग्रीसम्मको पहुँचका लागि मिडियाले पैरवी गर्नसक्छन्।
३) महिनावारीसँग जोडिएको मानसिक स्वास्थ्यको वकालत
–महिनावारी जीववैज्ञानिक प्रक्रिया त हो नै यो संवेगात्मक प्रक्रिया पनि हो। महिनावारीको समयमा निश्चित हर्मोनको उत्सर्जन हुने भएकाले महिलाहरूमा महिनावारी अघि र त्यस बखत संवेगात्मक परिवर्तन भइरहेको हुन्छ। त्यस्तो बेलामा उनीहरूको संवेगात्मक अवस्थालाई परिवारजनले बुझ्न आवश्यक हुन्छ।
यी विषयमा विज्ञहरूको धारणा, सल्लाह, सुझाव प्रकाशन गरेर मिडियाले सहयोग पुर्यासउन सक्छन्। अन्यथा संचार माध्यम कसैको मृत्यु कुरेर बहसको खोजी गर्छन् भने त्योभन्दा व्यर्थको समय अरु हुने छैन।