पछिल्लो समयमा जुम्लाका महिला बालविवाह विरुद्धको अभियानमा लागि परेका छन्।
यहाँका परम्परागत रीतिवाजलाई अत्यगरी बालविवाहमुक्त समाज निर्माण गर्न लागि परेको कनकासुन्दरी गाउँपालिका–६ की एकमाया हमालले बताइन्।
उनले भनिन्, 'सो अभियानमा निरन्तर लागेको छु। बालविवाह गर्दा स्वास्थ्यमा हुने हानी र जीवनमा भोग्नुपर्ने समस्याका बारेमा यहाँका दिदीबहिनीलाई सल्लाह दिन्छु।'
उनी महिनामा एक दिन बालविवाहजस्ता समाजमा हुने सबै प्रकारका कुरीति अत्य गर्नकै लागि छुट्याउछिन्। गाउँगाउँमा पुगेर कुरीतिका कारण समाजमा हिंसा फैलिदो अवस्थामा छ। परिवर्तित् समयको बेगसँगै हाम्रो मानसिकतामा पनि परिवर्तन ल्याउन जरुरी छ। समाजले जन्माएका नकारात्मक पाटा पक्ष केलाएर पन्छाउन जरुरी रहेको हमालले बताइन्।
हमाल एक उदाहरण मात्र हुन्। अहिले सो गाउँपालिकामा उनी जस्तै महिलाले १११ समूह बनाएर कुरीतिविरुद्ध अभियान नै चलाएका छन् । 'पहिले गाउँमासभा सम्मेलन हुँदा परिचय दिन कठिन हुन्थ्यो', हमालले भनिन्, 'अहिले निर्धक्क भएर परिचय दिन्छौँ। समूहमा नियमित बैठक बस्छौँ । अन्यायपूर्ण क्रियाकलापका विरुद्धमा आवाज उठाउन थालेका छौँ। यहाँका महिलाको अहिले साहस बढेको छ।' गाउँमा महिला सक्रिय हुन थालेपछि गाउँभित्र हुने विकृतिजन्य क्रियाकलाप हट्दै जान थालेको हमालले बताइन्।
यहाँका महिला पुरुषले महिलामाथि गर्ने अन्यायका बारेमा मात्र वकालत गर्दैनन्। महिलाले महिलामाथि गर्ने अन्यायको बारेमा समेत आवाज उठाउने गरेको तिला गाउँपालिका–१ का सुन्दरी रावतले बताइन्। उनले भनिन्, 'पुरुषबाट अधिकांश महिला हिंसामा परेका छन् । महिला पुरुष दुबैलाई हुने अन्यायका बारेमा बोल्न थालेका छौँ। कसैलाई न्याय दिने सवालमा अन्यायमा पर्न पनि दिँदैनौँ।' महिलाले गाउँमा बालविवाह, बहुविवाह रोक्नेजस्ता काम महिला लागि परेका रावतले बताइन्। श्रीमान्ले श्रीमतीलाई कुटपिट नगर्ने, श्रीमतीले श्रीमान्को आदार सम्मान गर्ने विषयमा समूहमा छलफल हुने गरेको छ। बहुविवाह गर्दा नागरिकता बन्दैन। विवाह दर्ता हुँदैन। त्यसलै बहुविवाह गर्नु हुँदैन भन्ने सन्देश दिन थालिएको छ।
आइएनएफ जुम्लाका प्रमुख अभिसेक विकले पछिल्लो समयमा यहाँका महिला अधिकार खोज्ने अभियानमा सक्रिय हुन थालेको बताइन्। आइएनएफको पावर परियोजनाअन्तर्गत महिलाले गाउँगाउँमा समूह निर्माण गरेका छन्। हरेक समूहमा पुरुष पनि सहभागी छन्। विकास निर्माणका हरेक क्रियाकलापमा समान हक खोज्न थालेका छन्। उपभोक्ता समितिमा अध्यक्ष र सचिवमा दाबी गर्न थालेका छन्। विकास निर्माणमा हुने अनियमितता पर्दाफास गर्छन्। बिल भरपाइ मागेर छानबिन गर्नसक्ने भइसकेको प्रमुख विकले बताए।
गाउँको विकासमा महिलाले गरेको कार्य अति राम्रो रहेको तिला गाउँपालिका उपाध्यक्ष विष्णु बुढाले बताए। सर्वोदय नेपालका प्रमुख कमल खत्री समाज विकासमा महिलाको नेतृत्वदायी भूमिका देख्न पाइएको बताए। महिलाको हक अधिकारका विषयमा गाउँपालिकाले गर्न आवश्यक सहयोग गरेको कनकासुन्दरी गाउँपालिका उपाध्यक्ष उर्मिला भण्डारीले बताइन्। रासस