‘सबै अचम्मित भए, म कोरोनालाई जितेर बाँचें’

अनलाइनखबर

काठमाडौँ

असोजको दोस्रो सातातिर ८१ वर्षीय चित्रबहादुर केसीलाई अनौंठोसँग छाती दुख्न थाल्यो । पाचन प्रणालीबाहेक कुनै पनि दीर्घकालीन स्वास्थ्य समस्या नभोगेका केसीलाई अचानक देखिएको नयाँ खाले दुखाइले एक्कासी झसंग बनायो । सुरुमा त बुढ्यौलीको ‘उपहार’ सम्झिएर दुखाइलाई सामान्यीकरण गरे । तर कोरोना महामारीको बेलामा एक/दुई दिनसम्म दुखाइ नरोकिएपछि भाइरोलोजिस्ट डा. शेरबहादुर पुनलाई टेलिफोन गरी उनले आफ्नो समस्या सुनाए ।

प्रत्यक्ष भेटघाट नभए पनि आफ्नै क्षेत्रका मान्छे भएकोले केसी र पुनको संवाद भइरहन्थ्यो । सबैकुरा सुनेपछि पुनले पनि दुखाइको कारण कोरोना हुने सम्भावना कम भएको बताए ।

‘डा. पुनले त्यति भनेपछि एक्कासी मनको तनाव कम भएर आयो । एउटा ठूलै राहतको महसुस भयो,’ केसी सम्झन्छन्, ‘डर नै नभएको भए त त्यति हतारिएर किन भाइरोलोजिस्ट कहाँ जान्थेँ र ? बरु पुनले एकपटक छातीको एक्सरे गर्न सुझाव दिए ।’

कोरोनाको महामारी नेपाल प्रवेश गरेसँगै केसीमा छुट्टै त्रासले गाँज्न थालेको थियो । ८ दशक पुगिसकेको जीर्ण शरीरलाई कोरोनाको आक्रमणबाट बचाउनको लागि उनले हदैसम्मको सतर्कता पनि अपनाएकै हुन् । दैनिक गुर्जाेपानी खान्थे, बेसार पानी पनि कहिलै टुटेको थिएन । बाहिर निस्कन पनि पछिल्लो केही समयदेखि चट्टै छाडेका थिए । ‘तर केही पनि लाग्दो रहेनछ,’ केसी अनुभव सुनाउँछन् ।

प्रकाशित मिति: : 2020-12-17 11:40:00

प्रतिकृया दिनुहोस्