कर्णालीमा कोरोनाको जोखिम र कठ्याङ्ग्रिने जाडोमा सकसपूर्ण पढाइ

रासस

कर्णाली

सरकारले विद्यालय खोल्न अनुमति दिएसँगै देशभर विद्यालय धमाधम सञ्चालनमा आउन थालेका छन्। 

आठ महिनापछि विद्यालयहरू सञ्चालनमा आउँदा शैक्षिक क्षेत्रमा चहलपहल बढ्न थालेको छ। शहरमा कोठा लिएर पढ्ने बालबालिका गाउँबाट तल झर्ने क्रम चलेको छ। अभिभावक आफ्ना नानीहरूलाई विद्यालय पठाउन पाउँदा खुशी छन्। गाउँबाट दक्षिण झर्नेको लर्को निरन्तर देखिएको छ।

पढ्ने सिलसिलामा होस् या व्यापार व्यवसायका लागि, हिमाली भेगबाट ओर्लिनेको घुइँचो बढ्दै जाँदा यतिबेला यातायात व्यवसायीलाई भ्याइनभ्याइ छ। दैनिक सयौँको संख्यामा हिमाली बासिन्दा फापर, सिमी, चामल, ओखर, स्याउ लिएर ओरालिँदै गरेका दृश्यहरु जति पनि देख्न पाइन्छ उता गाउँहरु भने सुनसान हुन थालेका छन्।

घरपरिवारका सदस्यको लुगाफाटोका लागि तराई झर्ने र कालापहाड उक्लने वर्षेनीको हिमाली बासिन्दाको बाध्यता यो वर्ष पनि छुटेन। कोरोना महामारीभन्दा पनि गाँस र कपासको समस्या टार्न मनमष्तिस्कमा कोरोनाको डर पालेर भएपनि घर छोड्नुको विकल्प छैन कर्णालीवासीलाई।  

साविक कर्णालीका चार जिल्लाका लागि यो मंसिर महिना शैक्षिक सत्रको अन्त्य हुन्थ्यो। चिसोमा हिमाली विद्यालय खुल्दा पहाडी, भित्री मधेश र तराईको बालबालिकाका लागि अनुकूलित वातावरण भएपनि त्यहाँका बालबालिकाका लागि भने यो निकै प्रतिकूल समय हो। 

जाडो हुने भएरै नेपाल सरकारले हिमाली जिल्लामा मंसिरलाई शैक्षिक सत्रको अन्तिम बनाएर पुस र माघ दुई महिना बिदा दिँदै आएको थियो। 

कोरोना महामारीले ल्याएको विषम् परिस्थितिका कारण नेपाल सरकारको निर्देशनमा स्थानीय सरकारहरुले विद्यालय खोलेका छन्। यद्यपी हिमाली जिल्लाका लागि यो याममा विद्यालय खोल्नु बाध्यकारी नै ठानिन्छ।
मंसिर लागे यता कर्णाली प्रदेशका हिमाली जिल्ला हुम्ला, मुगु, डोल्पा, जुम्लाको न्यूनतम तापक्रम माइनस झरिसकेको छ। 

यही मंसिर ६ गते जुम्लाको न्यूनतम तापक्रम माइनस चार डिग्री सेन्टिग्रेटमा झरेको हावापानी फिल्ड कार्यालय जुम्लाका कार्यालय प्रमुख आशामपुरा कार्कीले बताए। 

'जुम्लाको न्यूनतम तापक्रम दुई डिग्री सेन्टीग्रेट छ,' उनले भने, 'जाडो दिन दिनै बढिरहँदा जनजीवन कष्टकर बन्दै गएको छ।' 

चिसोले पाइप जमेर घरमा पानीको अभाव हुन थालेको जुम्ला चन्दननाथ नगरपालिका-६ का स्थानीय सम्झना महतले बताइन्।

'हामी बजारको भन्दा एकाबिहानै उठेर दाउरा बेच्ने, खेतबारीमा मलपर्सो बोक्ने, घर लिपपोत गर्ने गाउँका महिला र विद्यालय जाने बालबालिकालाई चिसोले सताएको छ। रुघाखोकी लागेर समस्या छ,' उनले भनिन्।  

कठ्याङ्ग्रिने जाडोले बालबालिका र ज्येष्ठ नागरिकलाई शौचालय जानसमेत कठिन बनाएको छ। तर पनि जाडोमा यहाँका बालबालिका विद्यालय गएर पढ्न थालेका छन्। चिसोसँग जुधेर पढ्नु उनीहरुको दैनिकी जस्तै बनेको छ।

यसबाट गरिब परिवारका बालबालिका बढी प्रभावित भएका छन्।

चिसोले गाडीको डिजेल पेट्रोल जम्न थालेपछि यातायात व्यवसायीलाई सास्ती हुन थालेको छ। गाडी सञ्चालनमा ल्याउन उनीहरुले दाउरा किनेर तेल ट्याङ्कर तताउँदै आएका छन्। बिहान-बेलुका चिसोले गर्दा हिमाली जनजीवन कष्टकर बनेको हो।

चिसोका कारण बालबालिकालाई कक्षा कोठामा बसाएर पढाउने अवस्था छैन। कठ्याङ्ग्रिने जाडोले पढ्ने विद्यार्थी र पढाउने शिक्षक सबैलाई ठूलो समस्या भएको पातारासी गाउँपालिका सरस्वती मावि रिनी जुम्लामा कार्यरत शिक्षक जयशंकर धितालले बताए।

सरकारले अहिले हिमाली जिल्लाको शैक्षिक सत्र चार महिना बढाएको छ। यसले मुलुकभरको शैक्षिक सत्र मिलान भएपनि शिक्षण क्रियाकलाप सहज नहुने देखिएको छ। हिमाली क्षेत्रका विद्यालयमा हुने शैक्षिक गतिविधिहरु कोरोना कहर र कठ्याङ्ग्रिने जाडोको कष्टकर अवस्थामा सञ्चालन भइरहेको चन्दननाथ नमूना मावि खलंगा जुम्लाका प्रधानाध्यापक टंक महतले बताए। 

'हामी र हाम्रा बालबालिकाले एकातिर जाडोबाट बच्नुछ भने अर्कोतिर कोरोनाको संक्रमणबाट जोगिन त्यत्तिकै सावधानी अपनाउनु पर्नेछ,' प्रधानाध्यापक महतले भने, 'एउटा समस्याले समात्यो भने पनि हाम्रो शिक्षण क्रियाकलाप त्यत्तिकै प्रभावित हुने निश्चित छ। त्यसैले बाक्लो लुगा लगाएर बालबालिकालाई विद्यालय आउन भनेका छौँ।'

सरकारले पाठ्यक्रम खुम्च्याएर पठाएकाले सोहीअनुरुप पठनपाठन भइरहेको  उनले बताए। आधारभूत तहको एक दिन र मावि तहको अर्को दिन भौतिक दूरी कायम गरेर अध्यापन गरिरहेको उनले बताए। 

उनका अनुसार चन्दननाथ नमूना माविले स्वास्थ्य सुरक्षाका आवश्यक मापदण्ड अपनाएर विद्यालय सञ्चालन गरेको छ। 

यता शिक्षा विकास निर्देशनालय कर्णाली प्रदेशका निमित्त निर्देशक दीपा हमालले चालू आर्थिक वर्षमा कर्णाली प्रदेशमा आधारभूतदेखि मावि तहसम्म अध्ययनरत कूल विद्यार्थी सङ्ख्या पाँच लाख ८२ हजार ११ रहेको जानकारी दिए। 

जसमा रुकुमपश्चिममा ५४ हजार ८१८, जाजरकोटमा ७८ हजार २००, सल्यानमा ७९ हजार १७४, दैलेख ९७ हजार १८७ र सुर्खेतमा एक लाख १८ हजार १८२ विद्यार्थीलाई एक देखि १२ कक्षासम्म अध्ययन गरिरहेका छन्।

त्यस्तै साविक कर्णालीको डोल्पामा १० हजार ३८६, हुम्लामा १७ हजार ५६८, मुगुमा २० हजार ७३६, जुम्लामा ३९ हजार ५६० र कालीकोटमा ६६ हजार २८० विद्यार्थी छन्। 

'हिमाली जिल्लाका रुपमा चिनिने साविक कर्णालीका पाँच जिल्लामा कूल एक लाख ५४ हजार ५३० (२६.५५प्रतिशत) बालबालिका अध्ययनरत छन्,' निमित्त निर्देशक हमालले भने, 'उनीहरू कोरोना र कठ्याङ्ग्रिने जाडोको उच्च जोखिममा छन्।' 

कोरोनामा महामारीमा स्वास्थ्य सुरक्षा मापदण्डहरु अपनाएको देखिँदैन। 

गाउँका बालबालिकाले दैनिकरुपमा सहजै मास्क प्रयोग गर्न नसक्ने र खोजे पनि भेटिने अवस्था नरहेको तिला गाउँपालिकाका निमित्त प्रधानाध्यापक मानबहादुर सिंहले बताए। 

'हामीले बालबालिका विद्यालय प्रवेश गर्दा अनिवार्य साबुनपानीले हात धुने वा स्यानिटाइजर प्रयोग गर्ने गराएका छौं,' उनले भने, 'चिसोले हात धुन नसक्दा स्यानिटाइजरको प्रयोग भइरहेको छ।' 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका अस्पताल निर्देशक डा मंगल रावलले हिमाली जिल्लामा कोरोनाभन्दा कठोर जाडोले रुघा खोकी, दम र निमोनियाका बिरामीहरु बढ्न थालेको बताए। 

'यसमा बालबालिका, ज्येष्ठ नागरिक र महिलाहरु नै बढी प्रभावित छन्। यसको प्रमुख कारण जाडोको अधिकतम् प्रभाव हो।'     

शिक्षा विकास तथा समन्वय एकाई हुम्लाका कार्यालय प्रमुख विष्णुबहादुर शाहीले हुम्लाका स्थानीय तहहरुले बेलाबेलामा विद्यालय खोल्ने प्रयास गर्दा कोरोना देखिएपछि बन्द भएको बताए। पछिल्लो समयमा हुम्ला नाम्खा गाउँपालिकामा कोरोना संक्रमण देखिएकोले अहिले हुम्लामा विद्यालय सञ्चालन नभएको बताए।

एकाइ प्रमुख शाहीले भने, 'माघ १५ गतेदेखि विद्यालय सञ्चालन हुनेगरी सबै विद्यालय बन्द गर्ने निर्णय गरिएको छ।' 

सरकारले विद्यालय सञ्चालन गर्न भनेपनि हिमाली जिल्लामा कोरोना र जाडोका कारण अनुकूल नभएको उनको भनाइ छ। 

प्रकाशित मिति: : 2020-12-13 16:22:00

प्रतिकृया दिनुहोस्