सिनेमा निर्माण वास्तव मै जटिल प्रक्रिया हो। यसमा पनि लघु सिनेमा निर्माण गर्नु भनेको फलामको च्युरा चपाए सरह हुनेगर्छ।
तर काम जति नै अफ्ठ्यारो भए पनि यसको मूल्याकन हुने गरेको छ। त्यसैले मानिसहरु फिल्म निर्माण चुनौतीपूर्ण हुने थाहा पाउँदापाउँदै पनि जोखिम लिन मनपराउँछन्।
अमेरिकालाई आफ्नो कर्मथलो बनाएर नृत्य प्रशिक्षण गर्दै आएका नवीन केसी र लुना श्रेष्ठले हालै केसी डान्स सेन्टरको प्रस्तुतिमा लघु सिनेमा ‘छाउ पीडा’ निर्माण गरेका छन्। विशेषत महिलाहरुको समस्यालाई लिएर निर्माण गरिएको यो लघु सिनेमाले विस्तारै चर्चा कमाउन थालेको छ।
महिलामा हरेक महिना देखिने महिनावारीको समस्यालाई आफ्नो कथाको विषय बनाएका यी दुईले ग्रामिण भेगमा हुने भेदभावलाई प्रर्दशन गर्न खोजेका छन्।
यसमा ग्रामिण भेगका महिलाहरुले महिनावारी कै कारण कसरी नारकीय जीवन बाच्न बाध्य हुनुपरेको छ भनेर प्रकाश पार्न खोजिएको छ। र, फिल्ममा जुन प्रकारले कथावस्तुलाई पस्किन खोजिएको छ, त्यो वास्तवमा सह्रानीय छ।
करिब १५ मिनेट लामो सिनेमामा रिमा केसी, रुबिना श्रेष्ठ तथा बाल कलाकार ऋचा ढकाल, आयुशा ढकाल, रोमा भण्डारी, रिया श्रेष्ठ, अङ्किता कोइराला र दिप्ती अधिकारीले अभिनय गरेका छन्।
सिनेमाको कथा कवि नवराज पराजुलीले लेखेका हुन्। कथा, पटकथा, सम्वाद तथा निर्देशन अभिनेता सरोज खनालले गरेका छन् भने छायांकन समीर मानन्धर र सम्पादन राजीव श्रेष्ठ र बिक्रम सापकोटाको छ।
सिनेमा हेर्दा पक्तिकारलाई खट्केको भनेको एउटा संवादमा ‘डिम्पल’ शब्दको प्रयोग हो। सायद सिनेमामा देखाइएको ग्रामिण परिवेशमा त्यो शब्द बोलिदैन कि?
अभिनय र मोडलिङ्गको अनुभव भएकी सोखिन कलाकार रिमा के सी बाहेक यो सिनेमाका सबै कलाकार व्यवसायिक छैनन् तर उनीहरुबाट स्वभाविक अभिनय गराउनु निर्देशक खनालको खुबी मान्नुपर्छ।
प्राय: अंग्रेजी बोल्ने भएर होला कलाकारहरुको सम्वाद कतैकतै ‘जर्क’ देखिन्छ। तर आलोचना नै गरिहाल्नु पर्ने ठाउँ देखिदैन। एक ठाउँमा बिजुली चम्किने र छाउ भएकी किशोरी तर्सिने बिम्ब प्रयोग भएको छ, जो ह्रदयस्पर्शी छ।
पक्तिकार सिनेमासम्बन्धी ज्ञाता होइन र यसलाई समीक्षाभन्दा पनि एउटा दर्शकको निजी अनुभव भनेर बुझ्न सम्बन्धित सबैमा बिनम्र अनुरोध छ।
समाजमा चलिरहेको एउटा ज्वलन्त समस्यालाई श्रब्य दृश्यको माध्यमबाट समाजको बिभिन्न पक्षमा पुर्याउने सतप्रयास गर्ने निर्माताद्वय केसी र श्रेष्ठ धन्यबादका पात्र हुन्।
यस्तै अरु पनि सार्थक प्रयास यो सिनेमासँग सम्बन्धित सबैसँग फेरिफेरि पनि आशा गर्न सकिने कुरामा दुईमत नहोला।