उपप्रधानमन्त्रीद्वारा कोरोना भाइरसविरुद्धको खाेप निःशुल्क उपलब्ध गराउनेबारे छलफल

बिएल संवाददाता

काठमाडाै‌ं

उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोना भाइरसको खोप ल्याउने विषयमा मन्त्रीहरुसँग छलफल गरेका छन्। 

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) का निर्देशक समितिका संयोजक समेत रहेका मन्त्री पोखरेलले शुक्रबार सिंहदरबारमा गृह, अर्थ, परराष्ट्र, सामान्य प्रशासन, स्वास्थ्य, पर्यटनमन्त्री, मुख्यसचिव र सचिवहरुसँग सामूहिक छलफल गरेका हुन्।

‘जनतालाई समयमै निःशुल्क खोप उपलब्ध गराउनेबारे छलफल भएको हो’, उपप्रधानमन्त्री पोखरेलले भने, ‘सरकारका निर्णय र त्यसमा भैरहेको प्रगतिकाबारेमा छलफल गरिएको हो।’

बैठकले सीमा विन्दुमा हेल्थ डेस्क स्थापना गर्ने गरी उपचारका निम्ति चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई आवश्यकता अनुसार करार सेवामा नियुक्त गर्ने बारेमा पनि बैठकमा छलफल भएको थियो।

‘कोरोना भाइरस नियन्त्रण सम्बन्धी कार्यको बारेमा सर्वसाधारणलाई जानकारी गराउने, जनचेतना जोगाउने सामग्री प्रकाशन गर्ने निर्णय पनि गरेका छौं,’ उनले भने। 

साथै, कोभिड नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीको भत्ता सम्बन्धमा देखा परेका  कठिनाइका सम्बन्धमा पनि छलफल भएको उनले बताए। 

प्रकाशित मिति: : 2020-12-11 15:20:00

प्रतिकृया दिनुहोस्