गोलबजार नगरपालिका–१० मुसहरी टोलकी ४० वर्षीया कुन्ती सदा घाम लागेपछि ओछ्यानमुनि ओछ्याएको पराल बाहिर सुकाउन निस्किन्छिन्। राति चिसो भुइँले ओसिएको ओछ्यानको पराल दिनभरको घाममा न्यानो पारेर राति फेरि बिछ्याउनु उनको हिउँदको दैनिकी हो। ‘घरेमे सरकार एला पर जाड स गरिबके नै कठुवाई परतै कहैछेलै सब झुठेके प्रचार छेलै (दैलोमै सरकार आएपछि गरिब कठ्यांग्रिएर सास्ती खेप्नु पर्दैन भन्थे सब झुटो प्रचार रहेछ)’, कुन्तीले भनिन्, ‘गरिबके सहारा दैबाला सरकार कतौने छै (गरिबलाई सहारा दिने सरकार कतै छैन)। घरमे सरकार एलो पर हमरा सबके देह आ बिछौना गरम नै भैलै (दैलोमै सरकार आए पनि गरिबका लागि न्यायो आएन)।’
मधेसका गाउँमा मंसिर मध्यबाटै बिहान–साँझ चिसो बढेको छ। शरीर कठ्यांग्रिन थालेको छ। हुनेखानेले ज्यानलाई जतन गरेर राखेका छन्। बाक्लो लुगा पहिरेर शरीर न्यानो राख्न थालेका छन्। तर सुकुमबासी, विपन्न समुदायमा बर्सेनि शीतलहर कहर बनेर आउँछ।