गाडीको सबैभन्दा माथिल्लो सिसामा लेखिएको छ, ‘बाबा गोकर्णेश्वर’ । त्यसको ठिक तल प्लेकार्डमा ‘गौशाला, एअरपोर्ट, सिनामंगल, कोटेश्वर, सातदोबाटो, तीनकुने, बल्खु’ । गाडी नम्बर बा५ख २७७२ । घडीको सुईले बिहानको १०ः१५ देखायो । गाडीमा यात्रु भरिभराउ छन् । पाइला टेक्ने ठाउँ पनि छैन । त्यसमाथि सहचालक अझै ‘पछाडि सर्नुहोस्, पछाडि सर्नुहोस्’ भन्दै कराउँछन् । कोटेश्वर हँुदै जाने बस कुर्न आधा घन्टाजस्तो समय लाग्छ । तबमात्रै यात्रा सुरू हुन्छ, बौद्धदेखिको सातदोबाटोसम्मको ।
बौद्ध, नयाँबस्तीमा बस्दै आएका कालिकोटका विष्णुदेव जैसी सातदोबाटो जान गाडी चढे । हुत्तिँदै गाडीमा झुन्डिएको डोरी समात्न पुगे । सिट सबै भरिभराउ । जसोतसो उभिएर गौशालासम्म आउन ३० मिनेट लाग्यो । बीचमा कोही ओर्लिए त कोही चढे । तर, यात्रुको संख्या थोरै भएन ।
१०ः५० मा सिनामंगल पुगेपछि जाम सुरू भयो । गाडीमा भिड । यताउता गर्ने ठाउँ छैन । “अब कतिबेरसम्म जाम हुने हो, उभिँदा–उभिँदा खुट्टा गलिसके,” उनले भने, “यात्रु कोचाएर के गर्न लाग्या होला ?” गोकर्णेश्वर–बल्खु सडकखन्डमा सवारी हाँक्दै आएका रामेछापका दिलीप लामाले भने, “मिलेर बसौँ । अगाडि ट्राफिक छ । ढोका लगा भाइ, ट्राफिकले समात्छ ।” मुस्किलले ढोका लगाउँछन्, सहचालक ।
यहाँ सधैँको लामो सवारी जाम । केही यात्रु ‘ढिलो हुन्छ’ भन्दै झरे । ४० सिट क्षमताको गाडी ती यात्रु ओर्लँदा पनि खाली भएन । सिनामंगलदेखि कोटेश्वर पुग्न एक घन्टा लाग्यो ।