टेकराज थामी
रौतहट फरहदवा (हाल राजपुर– २) स्थित सेख इद्रिसको गोठमा २७ चैत ०६४ को साँझ बम बनाइँदै थियो । भोलिपल्ट अर्थात् २८ चैतका दिन मुलुकभर संविधानसभाको चुनाव थियो । मतदान केन्द्रवरपर विस्फोट गराएर मतदाता भगाउने र बुथ कब्जा गर्ने योजनाअनुसार बनिरहेको बम दुर्घटनावश अघिल्लो साँझ गोठमै विस्फोट भयो ।
बमका योजनाकार थिए कांग्रेस उम्मेदवार मोहम्मद अफ्ताब आलम र उनका भाइ महताब । उनीहरूले बम बनाउन भारतको बिहारबाट कालिगढ झिकाएका थिए । कालिगढलाई साथ दिन बोलाइएका थिए स्थानीय युवा पिन्टु भनिने त्रिलोकप्रताप सिंह र मोहम्मद ओसी अख्तर । भारतमा साइन्स पढिरहेका पिन्टु र दुबईमा काम गर्ने ओसी केही समयअघि मात्र गाउँ फर्किएका थिए ।
तर, दुर्घटनावश अघिल्लो साँझ नै बम विस्फोट हुँदा गोठको छानो नै क्षतविक्षत भयो, बम बनाउने कलिगढ ठाउँको–ठाउँ ढले । नजिकै रहेका पिन्टु र ओसीलाई पनि बमको छर्राले लाग्यो । उनीहरू उपचार र उद्धारको पर्खाइमा थिए । तर, उपचार गर्दा घटना सार्वजनिक हुन्छ भन्ने डरले अफ्ताब र महताबले झन् डरलाग्दो योजना बनाए । अफ्ताबका सोहयोगीले बेहोस हुने इन्जेक्सन दिएपछि पिन्टु र ओसीलाई ट्रयाक्टरमा हालेर राति नै इँटाभट्टामा लगियो । अन्य मृतकसहित दुवै युवालाई पनि जिउँदै भट्टामा हालिएको प्रत्यक्षदर्शी तथा पीडित परिवारका सदस्यहरूले मौखिक तथा लिखित रूपमा उजुरी दिएका थिए । ‘त्यति मात्र होइन, युवाहरूको शरीर जिउँदै भट्टामा नछिरेपछि नजिकै दाउरा चिर्ने ठाउँबाट बन्चरो ल्याएर शरीर गिँडिएको थियो,’ परिवारका सदस्यहरूको उजुरीमै उल्लेख छ ।