कक्षा ११ को पाठ्यक्रम : नयाँ पढाउने कि पुरानैलाई निरन्तरता दिने अन्योल कायमै

देखापढी

काठमाडौँ

कृष्णसिंह धामी

 रेडियन्ट सेकेण्डरी स्कूल कञ्चनपुरमा कक्षा ११ पठनपाठन भइरहेको छ। कोरोना महामारीकाबीच पढाइ त भइरहेको छ। तर, के विषय पढ्ने भन्नेमा विद्यार्थी मात्र नभएर शिक्षकहरू समेत अन्योलमा छन्। 

कात्तिक पहिलो हप्ताबाट पढाइ सुरू भयो। सरकारले यो वर्षदेखि नयाँ पाठ्यक्रम लागू गरेको छ। केही दिनसम्म पहिलो पाठ्यक्रम अनुसार नै पठनपाठन भयो। तर, कात्तिक २० गते सर्वोच्चले तत्काल नयाँ पाठ्यक्रम लागू नगर्न नगराउन अल्पकालीन अन्तरिम आदेश जारी गर्‍यो। 

त्यसपछि कसरी अगाडि पठनपाठन गर्ने भन्नेमा अन्योल परिएको रेडियण्ट सेकेण्डरी स्कूलका प्रमुख प्रा.डा. चुडामणी जोशीले बताए। 

“केही हप्तासम्म नयाँ पाठ्यक्रम अनुसार पढायौं। सर्वोच्चले पुरानै पाठ्यक्रम अनुसार पढाउँ भन्यो। अब फेरी हामीले पुरानै पाठ्यक्रम अनुसार पढाउने कि नयाँ साह्रै अन्योलमा पर्‍यौं।” प्रमुख प्रा.डा. जोशीले भने। 

एकातिर कोरोना महामारीका कारण विशेष सावधानी अपनाएर कक्षा चलाउनुपरेको छ भने अर्कोतिर कुन पाठ्यक्रम अनुसार पढाउने भन्ने अन्योल छ। जसले गर्दा कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीको पढाइलाई निरन्तरता दिन नसकिएको उनको भनाइ छ। 

सरस्वती मन्दिर मावि तनँहुले पनि कात्तिकबाट कक्षा ११ मा पढाई सुरू गर्‍यो। तर, पठनपाठनलाई निरन्तरता दिन भने सकिएको छैन। माविका प्रधानाध्यापक रामेश्वर कोइरालाले कुन पाठ्यक्रम अनुसार पढाउने भन्नेमा अन्योलका कारण पढाइलाई निरन्तरता दिन नसकिएको बताए। 

प्रकाशित मिति: : 2020-12-09 11:33:00

प्रतिकृया दिनुहोस्