उद्धव प्याकुरेल
सन् १९५६ यताका हरेक अप्रिल १४ र डिसेम्बर ६ मा डा. भीमराव अम्बेडकरलाई विशेष रूपले सम्झने गरिन्छ। पहिलो उनी जन्मिएको र पछिल्लो उनले मृत्युवरण गरेको मिति हो ।
समाज सुधारक, राजनीतिकर्मी, पिछडिएको वर्गको आस्थाको केन्द्र, भारतीय संविधानको मस्यौदाकार इत्यादिले परिचित अम्बेडकर वास्तवमै बहुपरिचयका धनी थिए । सन् १८९० को दशकको रुढिवादी समाजमा जन्मिएका अम्बेडकर भारतकै सर्वोच्च सम्मान ‘भारत रत्न’ ले विभूषित भए।
जीवनभर आजको पाकिस्तान, बंगलादेश र भारतले चर्चेको विभाजनअघिको भूभागमा सक्रिय अम्बेडकरको योगदानको अवयवबारे भारत बाहेक बाँकी दुई देशमा खासै चर्चा सुनिन्न । तर नेपाल, श्रीलंकालगायतका देशमा भने पछिल्लो समय उनको व्यक्तित्व र कृतित्व बारे अध्ययन र अन्वेषणको कौतूहल बढ्दै गएको पाइन्छ।
जीवनको उत्तराद्र्धमा नेपाल भ्रमण गरी ज्ञान र अनुभव साटासाट गरेकाले पनि हुनसक्छ, अम्बेडकरलाई नेपालको दलित आन्दोलनले पनि बरोबर आफ्नो ठानिरहन्छ, उनका प्राज्ञिकमात्र होइन, समाज सुधारका अभियानहरूको पनि उद्धृत गरिरहन्छ ।