पुनर्निर्माण प्राधिकरणको कार्य अवधि एक वर्ष थप

बिएल संवाददाता

काठमाडाै‌ं

सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्य अवधि एक वर्ष थप गरेको छ।

मन्त्रिपरिषद्को मंसिर १५ गते बसेको बैठकले प्राधिकरणको एक वर्षका लागि थप गरेको प्राधिकरणले जानकारी दिएको छ।

यसअघि २०७७ असोज ५ गते प्रधानमन्त्री एवं प्राधिकरणको निर्देशक समितिका अध्यक्ष केपी ओलीको नेतृत्वमा बसेको बैठकले प्राधिकरणको कार्यावधि एक वर्ष थप गर्न सिफारिस गरेको थियो।

भूकम्पबाट प्रभावित संरचनाहरुको पुनर्निर्माण सम्बन्धी ऐन २०७२ को दफा ३ को उपदफा (३) बमोजिम प्राधिकरणको अवधि २०७७ पुस १० गतेबाट एक वर्ष थप गरिएको हाे।

थपिएको एक वर्षमध्ये २०७८ असार मसान्तसम्मको अवधिमा प्राधिकरणले चालु आर्थिक वर्ष २०७७/७८ मा विनियोजित बजेट अन्तर्गतका कार्यहरु कार्यान्वयन गर्नेछ।

आगामी आर्थिक वर्षको बाँकी अवधि (२०७८ साउन १ गतेदेखि २०७८ पुस १० गते) मा भने प्राधिकरणले निजी आवास, सिंहदरबार, रानीपोखरी एवं धरहरा पुनर्निर्माणसँग सम्बन्धित काम गर्नेछ।

सो अवधिमा लेखा स्रेस्ता अद्यावधिक गर्ने, लेखा परीक्षण गर्ने/गराउने तथा प्राधिकरणको जिम्मेवारी र सम्पत्ति नेपाल सरकारले तोकेका निकायमा हस्तान्तरण गर्ने छ।

प्रकाशित मिति: : 2020-12-06 19:11:00

प्रतिकृया दिनुहोस्