ललितपुर नगरप्रहरीले हटाउन थाल्याे लत्रिएका पुराना तार {तस्वीर/भिडियाे}

शनि शाक्य

ललितपुर

ललितपुर महानगरपालिकाले कुपण्डोलबाट अव्यवस्थित रूपमा टाँगिएका र सडकमा लत्रिएका तार व्यवस्थित गर्न थालेको छ।
 
तारले शहर कुरूप बनेको र दुर्घटनाको जोखिम बढेको भन्दै महानगरले हटाउन सुरू गरेको हो।

शहरको शुन्दरताका लागि अव्यवस्थित रहेका विभिन्न तारहरू हटाउन मेयर चिरिबावु महर्जनको निर्देशनसँगै आइतबारदेखि अभियान शुरु गरेको नगरप्रहरी प्रमुख सिताराम हाछेथुले बिएल नेपाली सेवालाई जानकारी दिए।

‘तारले शहरको स्वरूप भद्रगोल बन्दै गएको छ। लत्रिएका र सढकबाट होचो दुरिमा टाँगिएका तारले रातको समयमा सडक दुर्घटना बढ्न थालेपछि महानगरले विभिन्न सेवाप्रदायकसँगको सहकार्यकमा त्यसलाई व्यवस्थित गर्न सुरू गरेको हो,’ उनले भने।

तार व्यवस्थापनमा महानगरपालिकाले इन्टरनेट सेवाप्रदायक कम्पनी, टेलिफोन सेवाप्रदायक कम्पनी र विद्युत्त प्राधिकरणलाई सहयोगको आग्रह गरेको थियो।

उनीहरूकै उपस्थितिमा तार व्यवस्थित गर्न थालिएको हाछेथुले बताए। 

पार गराइएका तार भुईंबाट मुल सडकमा ६ मिटर उचाईमा हुनुपर्छ। सडक पेटीमा ४ मिटरको उचाईमा मात्र तार टाँग्नुपर्ने भएपनि अहिले सो उचाईको ख्याल नगर्दा दुर्घटनाको जोखिम बढेको उनको भनाइ छ ।

‘उचाईको पालना गरेमा बस र ट्रकले तार छुँदैन। त्यसैले उचाईभन्दा तल लत्रिएका तारलाई मुठा–मुठा पारेर तथा चुँडिएका र झुण्डिएर बसेका काम नलाग्ने तारलाई हटाउन थालेका हौं,’नगरप्रहरी प्रमुख हाछेथुले भने।

तार व्यवस्थापन पछि ट्रक र बसका सह–चालकले छतबाट लत्रिएका तार उठाउँदै सडक पार गर्नुपर्ने जोखिमपूर्ण अवस्थाका अन्त्य हुने उनको दावी छ।

नगरप्रहरी प्रमुख हाछेथुले तत्काल तारलाई पोको पारेर व्यवस्थित गरेपनि पछि यसको दिर्घकालिन समाधानका लागि महानगर लागिपर्ने बताए।

यसअघि, ललितपुर महानगर क्षेत्रका होर्डिङबोर्ड हटाएर नगर प्रहरीले सम्पदा सफाइ अभियान चलाएको थियो ।

प्रकाशित मिति: : 2020-12-06 14:04:00

प्रतिकृया दिनुहोस्