रमेश सायन
एउटा पुरानो घरको तगारो खोलेँ र भित्र पसेँ ।
तगारो छेउमै कुकुर सुतेको रहेछ । जीउभरि किर्ना थियो । किर्नाले टोकिरहँदा पनि शान्त थियो । मलाई देखेर पनि भुकेन, असल रहेछ ।
आँगनमा दुई बूढी मान्छे घाम ताप्दै थिए । मैले नमस्कार गरेपछि दुवै चलमलाए । एउटीलाई झट्टै चिने र हालखबर सोधेँ ।
उनीहरूले हालखबर बताउनु अघि नै 'मलाई चिन्नु भयो !' भनेर फेरि सोधेँ ।
ती दुईमध्ये जसलाई मैले चिनिनँ, उनले मलाई चिनिन् र भनिन्, 'काटीकुटी बाउको अनुहार ।'
मैले जसलाई चिने उनले मलाई चिनिनन् । तर, मेरो अनुहारमा उत्सुकताबस हेरिरहिन् । एकैछिन पछि फिस्स हाँस्दै भनिन्, 'माइला बाहुनका छोराजस्तो लाग्यो त !'
'हो हो ! हाम्रो घर यहीँ थियो ।'
उनी आश्चर्यमा परिन् । वर्षौंपछि आफ्नै छोरो भेटेजसरी उनका आँखा खुसी भए ।