जापानमा कार दुर्घटना, सिन्धुपाल्चोकका एक युवकको निधन

जापानको उत्तरी राज्य होक्काइदोको कितामी शहरमा कार दुर्घटना हुँदा सिन्धुपाल्चोकका २७ वर्षीय युवा वीरेन्द्र तामाङको निधन भएको छ।

उनी केही वर्षअघि अध्ययनका लागि जापान आएका थिए।

गत वर्ष नेपाल गएर बिहे गरेका तामाङ स्थानीय नाकासिबेचु चो योरोसिमा कम्पनीमा कार्यरत थिए। 

जापानी प्रहरीका अनुसार बिहीबार डिसेम्बर ३ तारिखका दिन स्थानीय समयअनुसार साढे तीन बजे कार दुर्घटनाग्रस्त भएको थियो। 

जापानको चर्चित टेलिभिजन ‘एनएचके’ को समाचारअनुसार दुर्घटना हुँदा कारमा तीन व्यक्ति सवार थिए। तामाङको टाउकोमा चोट लागेको थियो।

उनीहरू आसाहिकावाबाट नाकासिबेचुतर्फ जाँदै गर्दा दुर्घटना भएको थियो। 

प्रहरीका अनुसार दुर्घटना हुँदा घटना भएको सडकमा बाक्लो हिउँ थियो। 

यही हिउँमा कार अनियन्त्रित भएपछि सडकको देब्रेपट्टि किनारमा ठोक्किन पुगेको थियो। 

गम्भीर अवस्थामा उनलाई स्थानीय एक अस्पतालमा पुर्‍याइएको थियो। उनलाई अस्पताल पुर्‍याइएको दुई घण्टापछि चिकित्सकहरूले निधन भएको घोषणा गरेका थिए। 

प्रहरीका अनुसार कारमा रहेका अन्य दुई जना सकुसल छन्।

उनीहरू खतरामुक्त रहेको बताइएको छ। 

स्थानीय नेपाली अनलाइनहरूले दुर्घटना हुँदा तामाङको कारमा विनोद बिष्ट र घिमिरे थरकी एक महिला रहेको बताएका छन्।

प्रकाशित मिति: : 2020-12-04 14:44:00

प्रतिकृया दिनुहोस्