केही दिनअघि पोर्चुगलको राजधानी लिज्वनमा एउटा नयाँ रेस्टुरान्टको उद्घाटन भयो। जसको नाम थियो, आगन। यही रेस्टुरान्ट अगाडि एउटा प्लास्टिकमा केही कपडा बेरेर थकित तथा उदास मनका साथ एक नेपाली फोनमा गन्थन गरिरहेका थिए।
उनको अवस्था त्यति राम्रो थिएन। त्यसैले मलाई उनको बारेमा केही जान्ने इच्छा जाग्यो। आफू लामो समय पोर्चुगलमा बसेका कारण पनि कुनै नेपालीको दुःख देख्यो कि मलाई त्यसै नरमाइलो लागेर आउँछ।
उनी नजिकै पुगेर केही सोधेको मात्र थिए, उनले आफू टर्कीदेखि हिँड्दै आएको सुनाए। यसले मेरो मन कुटुक्क खायो। र, अझैं केही जान्ने इच्छा जाग्यो।
उनले आफ्नो नाम, रनबहादुर बताए। वास्तवमा नेपालमा उनको घर सालघारीमा रहेछ। करिब १४ वर्ष साउदी अरेबियामा काम गरेर घर फर्केका रनबहादुर नेपालमै केही गर्न चाहन्थे।
तर, के गर्ने? नेपालमा काम पाउन पार्टीको सक्रिय र कर्मठ कार्यकर्ता हुनुपर्ने योग्यता उनीसँग थिएन। फेरि गाउँका प्रायः सबै पोर्चुगल गएका थिए। त्यसैले उनलाई पनि पोर्चुगल आउने भूतले समात्यो।
गाउँमा एजेन्टहरूको कमि थिएन। त्यसैले एजेन्टले भन्यो– टर्कीको इगा विमानस्थलमा १३ सय नेपालीको माग आएको छ, जान्छौं भने कमाईं राम्रो छ। २ वर्ष काम गरेर त्यतैबाट पोर्चुगल जानु। सजिलो पनि पर्छ।’
एजेन्टको यो कुरा उनलाई मन पर्यो। उनले एकै शब्दमा ‘ओके’ गरेँ। अनि ५ लाख रुपैयाँ बुझाएर २०७५ सालको साउनमा टर्की हानिए। टर्कीमा उनको कमाईं थियो, मासिक ३ हजार तेले। टर्कीमा उनीहरूको मुद्रालाई तेले भनेर सम्बोधन गर्ने गरिन्छ।
इगा विमानस्थलमा उनले सफाईदेखि हरेक काम गर्नुपथ्र्यो। उनी खुसी नै थिए।
तर कोरोना महामारीका कारण उनको योजना बीचैमा तुहियो। इगा विमानस्थलको ठेकेदार कम्पनीले उनी टर्की पुगेको ६ महिना मै थप काम दिन नसकिने घोषणा गर्यो।
पोर्चुगल छिर्ने आफ्नो सपना पुरा नहुने देखेपछि उनले तत्कालै एक स्थानीय एजेन्टसँग सम्पर्क गरेछन्। र, उसैको सल्लाहमा केही पाकिस्तानीहरू सँग जंगलै जंगलको बाटो हुँदै ग्रीस छिर्ने र ग्रीसमा केही समय काम गरेपछि पोर्चुगल पुग्ने योजना बनाएछन्।
‘यसका लागि हामीसँग टर्कीका एजेन्टले २ हजार डलर लिएका थिए,’ रनबहादुरले दुःखेसो पोखे, ‘हामीलाई डङ्कर उपनामले चिनिने समूहले ५ दिन हिँडाएर ग्रीस पुर्याए। हामीले टर्की र ग्रीसको बीचमा रहेको समुन्द्री बाटोको पनि यात्रा गर्यौं।’
ग्रीसमा उनले केही समय सुन्तला टिप्ने काम पाए। तर, कोरोनाले पुरै युरोपलाई प्रभावित तुल्याएपछि यहाँ पनि टिक्न गाह्रो पर्यो।
टर्कीको कम्पनीले नेपाल फर्किन दिएको आदेश विपरित उनीहरू गैरकानुनी रूपमा ग्रीस हिँडेका थिए।
त्यसैले उनको पासपोर्ट टर्की मै थियो। केही महिना ग्रीस बसेपछि उनी जंगलको बाटो हुँदै पोर्चुगल प्रवेश गर्न ३ दिन हिँडेका थिए। बाटोमा खानाको जोगाड गर्न उनले झोलाभरि चाउचाउ र बिस्कुट राख्नु परेको थियो।
‘एउटा हातमा मोबाइल हुन्थ्यो। जीपीएस सिस्टमले बाटो पछ्याउन सजिलो होस् भनेर मोबाइल बोकेका थियौं। हामी ग्र्रीसबाट मोन्टेनेग्रो, मोन्टेनेग्रोबाट बोस्नीया हुँदै क्रोएसिया, क्रोएसियाबाट जंगलको बाटो हुँदै स्लोभानिया, स्लोभानियाबाट इटाली, इटालीबाट फ्रान्स र फ्रान्सको बाटो हुँदै पोर्चुगल प्रवेश गरेका थियौं,’ उनले भने।
उनलाई ग्रीसबाट मोन्टेनेग्रो हुँदै बोस्नीया प्रवेश गर्न ६ दिन लाग्यो। उनलाई बोस्नीय प्रवेशका लागि यति धेरै समय लाग्नुको कारण थियो, स्थानीय प्रहरी। जसले उनलाई देख्ने वित्तिकै जहाँबाट आएको हो, त्यही लगेर छोड्थे। तर, उनले हिम्मत हारेनन्।
बोस्नीयाबाट क्रोएसिया पुग्न उनलाई १० दिन लाग्यो। क्रोएसियामा उनको भेट अन्य नेपालीसँग पनि भयो। क्रोएसियाको वर्कपर्मिट पाएका उनीहरू पनि पोर्चुगल भित्रिने तरखरमा थिए।
‘स्लोभानिया आउँदै गर्दा बाटोमा यस्तो ठाउँ पनि देखियो, जहाँ गैरकानुनी मानिसलाई स्थानीय सरकारले एक वर्षको बिजुली र पानीको व्यवस्था गरिदिएको रहेछ,’ उनले भने–‘हामी नेपालबाट आएको भन्ने थाहा पाएपछि केहीले किन यसरी आएको? नेपाल भन्ने देश त राम्रै छ भनेर भन्थे।’
उनी स्लोभानियाबाट इटालीको क्रिस्तीया पुग्दा प्रहरीको थुनामा परेका थिए। उनलाई १३ दिन क्याम्पमा राखियो।
क्रिस्तीयामा दुई साता बसेपछि उनी इटालीको मिलान सहर पुगेका थिए। यही साथीहरूले मिलेर उनलाई मिलानबाट फ्रान्सको निसभिल्ला पुग्ने टिकट मिलाइदिएका थिए। निसभिल्लाबाट उनी पेरिस हुँदै स्पेन पुगेका थिए। स्पेनबाट भने दुई दिनको बस यात्रापछि लिज्वनको सेते रोइस झरेका थिए।
‘पेरिसमा केही दिन बसोबास गर्ने क्रममा पोखराका केही मनकारी दाजुहरूले क्रण सहयोग गर्नुभएको थियो,’ उनले भने–‘हिजो मात्र झरेको। कोरोनाको मार यहाँ पनि रहेछ, अब के गर्ने? चिन्ता लागेको छ।’
२०७५ को साउनमा हिँडेका उनी २०७७ को मंसीरमा पोर्चुगल आइपुगेका थिए। उनीसँग न भिसा छ, न पासपोर्ट नै। अहिले उनी आफू टुहुरो भएको महसुस गर्दैछन्। आफूले गल्ती गरेको उनको भनाई छ। त्यसैले उनी भूलेर पनि गैरकानुनी रूपमा विदेश नआउन सबैमा अपील गर्छन।