पौडेलको पक्राउ र पञ्चायतको प्रेत

बाह्रखरी

काठमाडौँ

गोविन्द अधिकारी

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई बुधवार उनकै गृह जिल्लमा प्रहरीले केही बेर नियन्त्रणमा लिएर छाडेछ । बुल्दी खोलामा बनेको एउटा पुल उद्घाटन गर्न जान लाग्दा सत्तारुढ दलका स्थानीय नेता कार्यकर्ताले विरोध गरेकाले शान्ति व्यवस्था कायम राख्न नेता पौडेलको सुरक्षाका लागि उनलाई नियन्त्रणमा राख्नुपरेको स्थानीय प्रहरीले बताएको छ । पूर्वनिर्धारित उद्घाटन कार्यक्रम बिथोलेर अशान्ति मच्चाउने कम्युनिस्ट कार्यकर्ताहरू भने पक्कै पनि पक्राउ परेका छैनन् । कांग्रेसका नेता पौडेलको कार्यक्रम बिथोल्नेहरूको साटो उनैलाई पक्रेर शान्ति सुरक्षा कायम राख्ने प्रहरी प्रशासनको व्यवहारले पञ्चायतकालको एउटा यस्तै घटना सम्झायो । 

त्यस्तै २०४० /४१ सालतिरको कुरा हो । तनहुँमा कांग्रेस समर्थकले जिल्ला पञ्चायतमा मात्र होइन गाउँ पञ्चायत पनि थुपै्रमा जितेका थिए । उनीहरू जिल्ला पञ्चायतका पदाधिकारीहरू गाउँमा आऊन् भन्ने चाहन्थे । हामी पनि गाउँमा जान उत्साहित हुन्थ्यौँ । ( म तनहुँ जिल्ला पञ्चायतको उपसभापति निर्वाचित भएको थिएँ ।) गाउँ सभा, विद्यालयको वार्षिकोत्सव, योजनाहरू उद्घाटन र शिलान्यास जस्ता अनेकौं निहुँमा हामी गाउँमा जान्थ्यौँ । यसले एकातिर अप्रत्यक्षरूपमा पार्टीको संगठन विस्तार हुन्थ्यो भने प्रशासन र मण्डलेहरूबाट सताइएका स्थानीय शिक्षक, पञ्चहरूको मनोबल बलियो हुन्थ्यो ।  हामी गाउँ गाउँमा जान्थ्यौं । धेरैजसो युवक संगठनका जिल्ला सभापति ध्रुवलाल प्रधान र मजदुर संगठनका सभापति काशीराम श्रेष्ठ र मसँगै हुन्थ्यौँ । जिल्ला पञ्चायतका क्षेत्रगत सदस्यहरू पनि साथमा हुने नै भए । सभापति विष्णुवीर आले प्रायः दक्षिण भेगमा र म बीचको तथा उत्तरी भेगमा जाने गर्थ्यौँ । धेरै ठाउँमा त मिलेसम्म सँगै पनि जान्थ्यौँ । यो लामो गन्थन पृष्ठभूमि बुझाउनका लागि हो । 

प्रकाशित मिति: : 2020-12-03 07:44:00

प्रतिकृया दिनुहोस्