२०४७ सालमा दोस्रो श्रेणीमा एसएलसी पास गरेर उच्च शिक्षाका लागि भारतको एउटा कलेजमा भर्ना भएका उनले २०५० सालमा आइएससी पास गरे । त्यसपछि उनलाई ‘मास्टरी गर्ने’ (पढाउने) रहर जाग्यो । शिक्षकका रुपमा काम गर्न गाउँकै साथीसँग उनी कालीकोट जान तयार पनि भए तर उनकी आमाले चेतावनी दिइन्– उत्तरमा महेन्द्र राजमार्ग र दक्षिणमा भारतसँगको बोर्डर कट्यौं भने तिमीले मेरो मृत मुख देख्नेछौँ ।
आमाको यस्तो चेतावनीलाई कुन छोराले बेवास्ता गर्न सक्ला र ? आमाको बचनको बन्धनमा बाँधिएका उनी मास्टरीका लागि न कालिकोट गए, न त आइएससीको सर्टिफिकेट ल्याउन भारत नै गए । तर कालीकोट नगए पनि, आइएससीको सर्टिफिकेट नल्याए पनि उनले आफ्नो इच्छा पूरा गरेरै छाडे । आफ्नै गाउँमा अहिले उनी जीवछ मास्टरको नामले चिनिन्छन् ।
उनी अर्थात्, सिरहाको औरही गाउँपालिका निवासी ४७ वर्षीय जीवछ यादवले परिबन्धका कारण सरकारी तथा निजी स्कूलको मास्टर हुन नसके पनि घरमै २०५१ सालदेखि ट्युसन पढाएर शिक्षक हुने धोको पूरा गरेका छन् । यतिमात्र होइन, ट्युसन शिक्षकका रुपमा उनी जिल्लामै नमुना बन्न सफल भएका छन् ।