सुदूरपश्चिमका सीमा नाकामा दिनहुँजसो भारत पस्नेको ताँती देखिन्छ। नेपाल र भारतमा कोरोना संक्रमण दर बढ्दै गए पनि त्यसको पर्वाह नगरी कामका लागि सुदूरपश्चिमका गौरीफन्टा, त्रिनगर र गड्डाचौकी नाकाबाट भारत जानेको संख्या बढ्दो छ। स्वदेशमा कुनै काम र आम्दानीको स्रोत नहुँदा यसरी भारत पस्नुपर्ने बाध्यता आइलागेको हो। भारत जाने सबैको एउटै जबाफ छ, ‘यहाँ स्वदेशमा रोजगारी छैन, बालबच्चा भोकभोकै मर्न दिनु भएन, त्यही भएर बाध्यताले मजदुरी गर्न जाँदै छौं।’
विश्वव्यापी रूपमा कोरोना महामारी फैलिएपछि भारतका विभिन्न सहरमा मजदुरी गर्ने हजारौं नेपाली गत चैत र वैशाखमा ‘मरे पनि आफ्नै भूमिमा मरौंला’ भन्दै घर फर्केका थिए। त्यतिबेला घर फर्कने सबैको मुहारमा उत्साह देखिन्थ्यो। भारतमा संक्रमण तीव्र बनेपछि स्वदेशमै काम गरेर परिवारको गुजारा चलाउने सोचका साथ उनीहरू घर फर्केका थिए। यहाँ सोचेजस्तो भएन। दिन बिते, महिना बिते तर आम्दानीको मेलो मिलेन। परिवारका सदस्य भोकभोकै बस्नुपर्ने अवस्था आयो। अन्ततः उनीहरू कोरोना साम्य नहुँदै फेरि उतै फर्कन बाध्य भएका हुन्।