‘हेर है साना भाइ, बरु चरेस खाएस् हरेस नखाएस्,’ भेट हुँदा गोतामे काका प्रायः भन्ने गर्थे। केटाकेटीमा माया गरेर बोलाउनेहरू मलाई साना भाइ भन्थे। मलाई सानैदेखि चिनेकोले उनी पनि प्रायः साना भाइ नै भन्थे र कहिलेकाहीँ भतिज पनि भन्थे।
गोतामे काका स्वर्गीय गोतामे बाजेका कान्छा छोरा हुन् र उनको नाम मुक्तिराम गोतामे हो। तर उनी गोतामे काकाले परिचित छन्।
गोतामे काका साह्रै जोशिला मान्छे। उनले चरेस त खाए कि खाएनन्, थाहा भएन्। तर हरेस चाहिँ कहिल्यै खाएनन्।
काका फुर्तिला मात्र थिएनन्, जोशिला पनि थिए। उनको जीवनमा मैले कहिल्यै थकान देखिनँ। उर्जाशील मान्छेको जीवनमा थकान र आलस्य भन्ने हुँदै हुँदैन। भए पनि त्यो छेउ पर्नै सक्दैन। उनको मान्यता यही थियो।
काका भन्ने गर्थे - अल्छी र काम चोर मान्छेको जीवनमा मात्र थकान हुन्छ। जतिसुकै बाधा अड्चन भए पनि मान्छेले आफ्नो कर्म छाड्नु हुँदैन। कर्म आफ्नै भूमिमा गर्नुपर्छ। जतिसुकै कठिन अवस्था आइपरे पनि आफ्नो मातृभूमि छाड्नु हुँदैन। त्यही भएर उनले आफ्ना कुनै सन्तानलाई सकेसम्म बाहिर पठाएनन्।
पछिल्लो पटक सन् २०१६ को असार महिनामा काठमाडौं गएको बेला उनीसँग भेट भएको थियो। त्यो भेट अनपेक्षित थियो।