यश घिमिरे
राधाले आज सपिङ मलमा प्रत्यक्ष देखी, सञ्जय एउटी केटीसँग त्यहीँभित्रको क्याफेमा मुखामुख हुँदै कफी पिउँदै गरेको । एक–दुईजनाले “भाउजू ! दाइको आजकल अफिसकै एउटीसँग लसपस छ है” नभनेका होइनन् । यस्ता कुराले मनमा केही चिसो पसे पनि “ह्या होइन होला ! कोही मिल्ने साथी पनि त हुनसक्छ नि” भनेर हाँसेरै टारीदिएकी थिई । तर आज भने खुदै आफ्नै आँखाले देखी– दुवैजना एकापसमा झुक्दै, आँखा जुधाउँदै र ओठमा मुस्कानसहित स्वाद लिँदै कफी पिउँदै गरेको !
त्यहीँमाथि टेबलमा क्यास्ट्रो ब्रान्डको सामानसहितको झोला देख्नेबित्तिकै शान्त स्वभावकी राधामा पनि रिसको ज्वालामुखी फुट्यो– “गिफ्ट किनिदिएको होला नि नकचरीलाई...”
बिजुली चम्केसरी यो विचारले भित्रैसम्म हल्लायो राधालाई ! गएर गिफ्टको झोलालाई च्यातचुत बनाउँदै त्यो केटीको जगल्टा उखेल्ने मन भयो । खाइरहेको तातो कफी लोग्नेको टाउकोबाटै खन्याइदिन मनलाग्यो !
“होस्, तमासा के बनाउनु ? अहिलेसम्म सहनु सहेँ, अब खबर लिन्छु । घर त आऊ...”, उसले मनमनै सोची । छोराका लागि हेर्दै गरेको टिसर्ट पनि त्यतिकै छाडेर मलबाट बाहिरिई ।
“ट्याक्सी ! घट्टेकुलो जाने हो ?”
“हुन्छ बस्नुस् ।” ड्राइभरले पछाडिको लक खोलिदिँदै भन्यो, “पाँच सय रुपैयाँ लाग्छ ।”
अरूबेला भा’भए तीन सय भनेर बार्गेनिङ गर्ने राधालाई आज केही भन्न मन लागेन । चुपचाप बसी । मनभित्र तर्कनाको आँधीबेरी चल्दै छ भन्ने त उसको अत्यधिक रातो अनुहारले बोल्दै थियो ।