केदार शर्मा
केही दिनअघि हिमाल खबरपत्रिकाबाट तुफान न्यौपानेजीको फोन आयो, “इलामको डाँडागाउँका दीपक जोशी सन् १९८१ मा दार्जीलिङमा गिरफ्तार भएयता कुनै सुनुवाइ विनै कोलकाताको हावडा जेलमा रहेछन्। उनलाई जिम्मा लिने आफन्त फेला परे उनलाई मुक्त गराउने प्रयास सफल हुन्छ कि जस्तो छ। फेला पार्नका लागि कुनै मद्दत गर्न सकिएला दाइ ?”
आफ्नो बानी अनुसार “सकिएला नि !” त भनिहालें, तर आफ्नो थर ‘जोशी’ बताउने कुनै पनि इलामे अहिलेसम्म नभेटेको पनि बताएँ।
डाँडागाउँका जोशी
नेपालमा दुईवटा ‘फिक्कल’ भएको मलाई थाहा छ। ‘माघे’ एउटा मात्र थाहा छ। तर केराबारी वा तोरीबारी सुन्दरपुर धेरैवटा छन्। पहाडमा ‘डाँडागाउँ’ हरू पनि जताततै भेटिन सक्छन्। संयोगवश एउटा डाँडागाउँ हाम्रो घर नजिकै छ। अर्को डाँडागाउँ चमैतामा पनि छ भन्ने सुनेको हो।
जोशी भन्ने थर नेवार र बाहुन दुवैको हुन्छ। तर इलाममा ती दुवै समुदायका जोशी थर लेख्ने मान्छे भएको मलाई थाहा थिएन। हाम्रो घर छेउको डाँडागाउँ मूलतः नेवार गाउँ नै हो। सामान्यतया त्यहाँका नेवारहरू आफ्नो थर ‘प्रधान’ नै लेख्छन्। त्यति हुँदाहुँदै पनि यतातिर ‘प्रधान’ थर मात्र नभएर ‘नेवार’ (जातीय समुदाय) बुझाउने साझा र सम्मानजनक शब्द पनि हो। त्यसैले मैले दीपक जोशीको खोजी छिमेककै डाँडागाउँबाट थालें। तर यो डाँडागाउँमा न त कोही जोशी रहेछन्, न त त्यहाँको कोही व्यक्ति त्यसरी बेपत्ता भएका रहेछन्।