आर्यघाटमा सपनाको संसार

नेपालकी सपना रोकामगर २०२० को विश्वकै प्रेरणादायी र प्रभावशाली महिलाहरूको सूचीमा परेकी छिन् । बिबिसीले तयार पारेको सूचीमा नेपालबाट उनी मात्रै परेकी हुन् । यस वर्ष बिबिसीले अप्ठ्यारो स्थितिबीच पनि समाजमा परिवर्तन ल्याउने खालका काम गर्ने एक सय महिलालाई सो सूचीमा समावेश गरेको छ । 

बिबिसीले तयार पारेको सूचीमा फिनल्यान्डकी प्रधानमन्त्री सान्या मरिनदेखि अवतार र मार्बल सिनेमाकी नायिका मिचेल एओ, कोरोना भाइरसविरुद्धको भ्याक्सिन पत्ता लगाउने अक्सफोर्ड विश्वविद्यालयको अनुसन्धान विभाग प्रमुख सारा गिल्बडए पनि छिन् । बिबिसीले प्रत्येक वर्ष विश्वको विभिन्न स्थानमा रहेको आफ्नो प्रसारण र तिनमा कार्यरत रिपोर्टरहरूको सहयोगको माध्यमले विश्वको प्रेरणादायी र प्रभावशाली एक सयजना महिलाको सूची तयार पार्ने गरेको छ । त्यही सूचीमा म्याग्दीकी १८ वर्षीया सपना पनि समेटिएकी हुन् । सपनाले आफू सय उत्कृष्ट महिलाभित्र पर्दा खुसी तथा गौरन्वावित भएको बिबिसीलाई बताएकी छिन् । उनी बेवारिसे शव व्यवस्थापनमा संलग्न छिन् । 

कुनै समय आफैँलाई सहयोग गर्ने कोही नभेट्दा सडकमा पुगेकी सपना त्यही अनुभवले समाज सेवामा लाग्न प्रेरित गरेको सुनाउँछिन् । ‘विश्वभरि नै घरबारविहीन र त्यागिएका मान्छेहरू छन् । सडकमै मृत्युवरण गर्ने व्यक्तिहरू पनि अन्तिम संस्कारका लागि लायक त हुन्छन् नै,’ बिबिसीले उनको भनाइ उद्धृत गर्दै लेखेको छ, ‘म यो काम सामाजिक सेवाका लागि गरिरहेको छैन, मेरो मनको शान्तिका लागि गरिरहेकी छु ।’

केही समय लागुऔषध दुव्र्यसनीमा परेकी सपना त्यसको लतबाट छुटकारा पाउन पुनस्र्थापन केन्द्रसमेत गइन् । त्यहाँबाट फर्केपछि उनी तीन महिना घरविहीन भइन् । घरविहीन अवस्थामै उनी काठमाडौं आइन् । जीवनमा केही गर्नुपर्छ भावनाका साथ बेवारिस भएको शव व्यवस्थापनमा लागिन् । ‘एक सामान्य महिलाका लागि यो प्रेरणा हो,’ सपनाले बिबिसीलाई भनेकी छिन् । 

कोभिड–१९ को महामारी समयमा पनि सपना पशुपति क्षेत्रमा निकै व्यस्त भइन् । कोभिडबाट मृत्यु भएको शव व्यवस्थापन गर्न र दाहसंस्कारमा उनको सक्रियता थियो । ३५ दिनसम्म कुनै पनि शवको जिम्मेवारी कसैले लिन नआएको अवस्थामा सपनाले अग्रसरता लिई त्यो शवको व्यवस्थापन गर्ने गरेकी छिन् । उनलाई विनयजंग बस्नेतले सहयोग गर्दै आएका छन् । दाहसंस्कार मात्र होइन, उनी किरिया पनि बस्छिन् । बेवारिसे लासमा दागबत्ती दिँदा धेरैपटक गाली खाएको उनी बताउँछिन् ।

प्रकाशित मिति: : 2020-11-25 09:59:00

प्रतिकृया दिनुहोस्