बालिका हत्या प्रकरण: प्रहरीले गाेली र २२ राउण्ड अश्रुग्यास हानेर खुलायो राजमार्ग

महोत्तरीको बर्दिवासमा बालिकाको बलात्कारपछि हत्या गरिएको भन्दै विरोध प्रदर्शनमा उत्रिएपछि अवरुद्ध भएकाे राजमार्ग खुलाएको छ।

प्रदर्शनकै कारण पूर्वपश्चिम राजमार्ग र बीपी राजमार्गको उक्त खण्डमा बिहानैदेखि सवारी अवरुद्ध थियाे । 

लाठीचार्ज र अश्रुग्यास प्रहार गर्दा पनि स्थिति नियन्त्रणमा आउन नसकेपछि घटनालाई नियन्त्रणमा लिन प्रहरीले हवाईफायर गरेको थियो।

प्रहरीको गोली लागि बर्दिवास १ का ४५ वर्षीय सञ्जय न्यौपाने गम्भीर घाइते भएका छन्। उनलाई प्रहरीले चलाएको २ राउण्ड गोली लागेको छ।

उनको बर्दिवासस्थित पिनाकल अस्पतालमा उपचारपछि थप उपचारका लागि हेलिकप्टर चार्टर गरि काठमाडाैं लैजाने तयारी भइरहेको बर्दिवास नगरपालिका १ का अध्यक्ष चुडामणि पोखरेलले जानकारी दिए।

बर्दिबास नगरपालिका १४ शुभम् बस्तीबाट बेपत्ता भएकी शहीद आलमकी छ वर्षीया छोरी गुलाव साह खातुनको शव प्रहरीले सोमबार मध्यराति फेला पारेको हो। 

घरआँगन वरपर नै खेलिरहेकी खातुन आइतबार साँझ अचानक हराएपछि परिवारजन र प्रहरीले उनको खोजी गरिरहेको थियो।

बालिकाको शव बर्दिवास १४ कै शुभम बस्ती नजिकको झाडीमा बोरामा खाँदेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ। बर्दिवास १४ को शुभम बस्तीस्थित सामुदायिक परिवार कल्याण सङ्घको कार्यालयभन्दा पश्चिम बिकरु साहको घर पछाडिको विनोद साहको खाली जग्गामा खातुनको शव भेटिएको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक राजन चापागाईँले जानकारी दिए।

बालिकाको नियोजित हत्या गरेको आशङ्कामा प्रहरीले जिल्लाकै गौशाला नगरपालिका ५ का २५ वर्षीय अरुणकुमार साहलाई पक्राउ गरेको छ। पक्राउ गरिएका साहले प्रारम्भिक सोधपुछमै खातुनको हत्या गरेको स्वीकार गरेका प्रहरी नायब उपरीक्षक चापागाँईले बताए।

लगत्तै आक्रोशित स्थानीयहरुले उनको घरमा आगो लगाएका थिए। आगो नियन्त्रणमा लिन बर्दिबास नगरपालिकाबाट पुगेको दमकललाई स्थानीयहरुले अवरोध गरेका छन्।

इलाका प्रहरी कार्यालय बर्दिबासका प्रमुख प्रहरी नायव उपरीक्षक राजन चापागाईले स्थानीयहरुको अत्यधिक भिड रहेको र तिनीहरुले आगो नियन्त्रण गर्न नदिएकाले अहिलेसम्म आगो नियन्त्रणमा नआएको बताए।

घटना स्थलमा रहेका प्रहरी नायव उपरीक्षक चापागाईले प्रदर्शनलाई नियन्त्रण गर्न करिब २२ राउण्ड अश्रुग्यास प्रहार गरिएको जानकारी दिए।

घटना प्रकृति हेर्दा बालिकालाई बलात्कार गरेर हत्या भएको स्थानीयवासीले बताएका छन्। प्रहरीले भने शव परीक्षणपछि थप कुरा खुल्दै जाने जनाएको छ। शव परीक्षणका लागि प्रादेशिक अस्पताल पठाइएको र घटनास्थललाई घेरा हालेर प्रमाण सुरक्षित राखिएको प्रहरी नायब उपरीक्षक चापागाँईको भनाइ छ।

 

प्रकाशित मिति: : 2020-11-24 14:53:00

प्रतिकृया दिनुहोस्