अहंकार जीवनको बाधा हो। जीवनमा म अहंकार गर्दिनँ भनेरमात्रै हुँदैन। अहंकारको आफ्नो अस्तित्व नै छैन। अन्धकारजस्तै हो अहंकार। अन्धकारको आफ्नो बेग्लै अस्तित्व हुँदैन। प्रकाशको अस्तित्व हुन्छ। अन्धकार भनेको प्रकाशको अनुपस्थितिको नाम हो।
अन्धकारलाई प्रत्यक्ष केही गर्न सक्दैन। तर, अन्धकारलाई केही गर्नु छ भने प्रकाशलाई केही गर्नुपर्छ। अन्धकार ल्याउनु छ भने प्रकाश हटाइदिनुप¥यो। बत्ती हटाइदिनुप¥यो। अन्धकारलाई भगाइदिनु छ भने प्रकाश बाल्नुप¥यो।
त्यसैगरी, अहंकारलाई प्रत्यक्ष हामी केही गर्न सक्दैनौं। अहंकारलाई मेट्न ध्यान, सजगता, होश र प्रेमको बढोत्तरी हुनुपर्छ। ९९ सय प्रतिशत मन र एक प्रतिशत चैतन्य छ भने त्यो गैरध्यानको अवस्था हो। ध्यान नभएको अवस्था हो।
तर, ९९ प्रतिशत प्रेमको अवस्था छ, निरअहंकारिताको अवस्था छ भने त्यो ध्यानको अवस्था हो। सतप्रतिशत प्रेमको अवस्था छ भने त्यो समाधिको अवस्था हो। एक्लो हुने जुन कला हो त्यो ध्यान हो।
आफैंभित्र पस्ने जुन उपाय हुन् ती ध्यान हुन्। साधकले ध्यानको चर्चा गर्नु आवश्यक छैन। म यस्तो गर्दै छु, उस्तो गर्दै छु भन्नु आवश्यक छैन। ध्यान चुपचाप गरिर्ने चिज हो। तपाईंको व्यक्तित्व, बोली र उपस्थितिले अभिव्यक्त गरिहाल्छ ध्यानको आभा।
धेरैजसो मान्छे ध्यान गर्दैनन्। कुरा मात्र गर्छन्। ध्यानको सम्बन्धमा चर्चा व्याख्या गर्छन्। त्यसबाट ध्यानको अनुभूति हुँदैन। प्राध्यापन गर्ने बेलामा मैले कस्ता–कस्ता विद्यार्थी देखेको छु भने कलेजमा पनि पढे झैं गर्दैनन्। घरमा पनि पढे झैं गर्दैनन्। तर, पढ्ने काम सुटुक्क गर्छन्। उनीहरू हेर्दा पढे झैं देखिँदैनन्। तर, परीक्षामा प्रतिफल उसैको राम्रो आइरहेको हुन्छ।