अन्ततः ट्रम्पले वाइडेनलाई दिए अन्तरिमकालको प्रशासन सञ्चालन गर्न स्वीकृति

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्ततः राष्ट्रपतिमा निर्वाचित जो वाइडेनले अन्तरिमकालको प्रशासन औपचारिक रुपमा सञ्चालन गर्न सक्ने बताएका छन्।

चुनावको नतिजा अस्वीकार गर्दै आएका ट्रम्पले अन्तरिम प्रशासनको कामलाई औपचारिकता प्रदान गर्नका लागि गर्नु पर्ने सबै प्रक्रिया पूरा गर्न महत्वपूर्ण संघीय निकायलाई निर्देशन दिएको ट्वीट गरेका हुन्।

नोभेम्बर ३ मा भएको चुनावमा पूर्व उपराष्ट्रपति समेत रहेका जो वाइडेन विजयी भएका छन्। तर ट्रम्पले धाँधली भएको र आफूबाट नतिजा खोसिएको आरोप लगाउँदै आएका छन्।

अहिलेसम्म धाँधली भएकाे कुनै पनि ठोस प्रमाण भेटिएको छैन र निर्वाचन तथा सुरक्षा अधिकारीहरुले नोभेम्बर ३ को चुनाव इतिहासकै सबैभन्दा सुरक्षित र पारदर्शी रहेको बताएका छन्।

यद्यपी ट्रम्पले चुनावी नतिजा अस्वीकार गरेपनि अन्तरिम प्रशासनलाई सत्ता औपचारिक रुपमा नसम्हाल्दासम्मका लागि प्रशासनिक काममा पहुँच प्रदान गर्ने मुख्य जिम्मेवारी पाएको जनरल सर्भिसेज एड्मिनिस्ट्रेसन (जिएसए) ले वाइडेनलाई चुनावको स्पष्ट विजेताका रुपमा स्वीकार गर्ने बताएको छ।

साेही अनरुप वाइडेन र कमला ह्यारिसले अन्तरिमक कालको काम थालेका थिए।

ट्रम्प प्रशासनको असहयोग र सरकारी सूचना तथा कोषमा पहुँच नभए पनि अन्तरिमक कालको काम थालेका उनीहरुले बिभिन्न विज्ञहरुसँग सल्लाह लिएका थिए।

विज्ञहरुले उनीहरुलाई आउँदो जनवरी २० मा राष्ट्रपतिको शपथ लिनुभन्दा अघि नै काम गर्अन सल्लाह दिएका थिए।

यसअघि मिसिगन राज्यले सोमबारै वाइडेनको जितलाई औपचारिक रुपमा प्रमाणिकरण गरेको थियो। 

एक रिपब्लिकन पदाधिकारी अनुपस्थित रहे पछि तीनजनाले मत परिणामलाई औपचारिकता प्रदान गरेको हो। 

मिसिगनका दुई डेमोक्र्याट तथा दुई रिपब्लिकनसहितको चार सदस्यीय इलेक्टोरल कलेज मतलाई आधिकारिकता प्रदान गर्ने कमिटिको सोमबारको बैठकले एक लाख ५० हजार भन्दा बढि मतले अघि रहेका वाइडेनको पक्षमा नतिजालाई औपचारिकता प्रदान गरेको छ।

सो प्रमाणिकरण चुनावको नतिजा उल्ट्याउने प्रयासमा रहेका ट्रम्पका लागि ठूलो धक्का थियो।

जिएसएकी प्रमुख एमली मर्फीले राष्ट्रपतिमा निर्वाचित वाइडेनको अन्तरिम प्रशासनका लागि ६३ लाख डलर रकम निकाशा गरेको बताएकी छन्।

उनले अन्तरिम प्रशासनलाई पहुँच दिइने सम्बन्धी पत्र वाइडेन प्रशासनलाई पठाएकी छन्।

प्रकाशित मिति: : 2020-11-24 07:12:00

प्रतिकृया दिनुहोस्