त्यसो त गुनकेशरी सबै हिसाबले निपूण थिइन् । बाहिरी सुन्दरताले भरिपूर्ण उनी व्यावहारिक रूपमा पनि त्यत्तिकै पूर्ण थिइन् । जेठी छोरी भएकाे नाताले घरको सम्पूर्ण व्यवहार उनकै हातमा थियो । आफ्ना बाबाको रेखदेख गर्नु, बहिनीका लागि अभिभावकत्व प्रदान गर्नु मात्र उनको काम थिएन, समाजका समस्याहरूको निराकरणमा पनि उनको उत्तिकै योगदान थियो । समग्रमा भन्नुपर्दा गुनकेशरी सौन्दर्यता, व्यवहार र गुणले भरिएकी पूर्ण प्याकेज थिइन् ।
गुनकेशरीको रूप र गुणबाट प्रभावित नहुने सायदै कमै युवाहरू थिए । तीमध्ये एक थिए अर्जुन । पढे लेखेका सबै हिसाबले लायकका थिए अर्जुन । उनी पनि गुनकेशरीजस्ती जीवनसंगिनीको खोजीमा थिए । त्यसैले विवाहको प्रस्ताव लिएर पुगे उनकोमा । तर उनको प्रस्ताव गुनकेशरीले अस्वीकार गरिदिइन् । माइतीघरलाई उनको धेरै आवश्यकता छ भन्ने ठान्थिन् उनी । उनको अनुस्पथितिमा बुबा र बहिनीको जीवन कसले सम्हालिदिने, समाजका समस्याहरूमा कसले बोलिदिने भन्ने चिन्ता थियो उनमा । त्यसैले उनले विवाहभन्दा पनि ठूलो परिवार र समाजप्रतिको कर्तव्य ठानिन् ।
समय बित्दै गयो, बुबाको देहान्त अनि बहिनीको विवाहपछि एक्लै बन्न पुगिन् गुनकेशरी । जीवनमा एक्लोपन त छँदै थियो, बहिनीज्वाइँ उनीहरूको छोरोसहित माइत आउँदा, खेल्दा अनि रमाउँदा उनलाई पनि कताकता आत्मग्लानि हुन थालेको थियो । उनको मनले पनि कसैलाई खोजिरहेको भान हुन थाल्यो, उनलाई । त्यसैले पहिला विवाहको प्रस्ताव राख्ने अर्जुनकोमा आफैँ पुगिन् फेरि विवाहको प्रस्ताव लिएर । तर समय धेरै अगाडि बढिसकेको थियो । अब अर्जुन उनको विवाह स्वीकार गर्ने अवस्थामा थिएनन्, कारण गुनकेशरीको मान प्रतिष्ठा अनि इज्जत बेमौसमी बनिसकेको थियो ।
अवसरहरू बाजा बजाएर आउँदैनन्, तिनलाई समयमा चिन्न सक्नु आवश्यक हुन्छ भन्ने तथ्य भवानी भिक्षुको कथा गुनकेशरीमा जस्तै प्रचण्डमा पनि लागू हुन्छ । माओवादी द्वन्द्वले नेपाली समाजलाई कस्तो दृष्टिकोण दियो भन्ने कुराको बहस आफ्ना ठाउँमा होला तर नेपाली राजनीतिमा प्रचण्ड त्यस्ता पात्र हुन् जसले कुनै कालखण्डमा हजारौँ युवालाई परिवर्तनका लागि ज्यानको बाजी लगाउन पनि पछि नपर्ने गरी प्राेत्साहित गरे ।