सरकारले विदेश जाने व्यक्तिहरूको कोरोना भाइरसको पीसीआर परीक्षण लेभेल-ए प्रयोगशालामा मात्र गर्न निर्देशन दिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबार अब विदेश जानेहरूको हकमा पीसीआर परीक्षण लेभल-ए प्रयोगशालाबाट मात्र गराउन निर्देशन दिएको जानकारी दिए।
सरकारले पछिल्लो समय प्रयोगशालाबाट परीक्षण गराइ विदेश गएका व्यक्तिहरूको पुनः परीक्षण गर्दा पोजेटिभ नतिजा देखिएको भन्दै परीक्षणमा कडाइ गर्न लागेको हो।
उनका अनुसार अहिले देशभर ७८ वटा प्रयोगशालामा कोरोनाको पीसीआर परीक्षण हुँदै आएको छ।
अहिले ३४ वटा प्रयोगशालालाई लेभेल-ए को मान्यता दिइएको छ। अब यी ३४ वटा प्रयोगशालाले मात्र विदेश जाने व्यक्तिको पीसीआर परीक्षण गर्न पाउने छन्।
कोरोना परीक्षणमा सरकारी परिचय पत्र अनिवार्य
मन्त्रालयले कोरोना भाइरसको परीक्षणमा सरकारी परिचय पत्र अनिवार्य गर्न निर्देशन दिएको छ।
मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टम (आईसीएस)ले स्वाब संकलन गर्दा परिचय पत्र हेर्न निर्देशन दिएको हो। विदेश यात्राका लागि पीसीआर परीक्षण गर्दा सम्बन्धित व्यक्तिको पहिचानका लागि बायोमेट्रिक वा यस्तै अन्य प्रणाली अवलम्बन गर्न पनि भनिएको छ।
साथै इनकन्क्लुसिभ रिपोर्ट (नेगेटिभ वा पोजेटिभ यकिन नभएको) आएमा पोजेटिभ मान्न र लोअर डिटेक्सन युनिट उल्लेख गर्न निर्देशन दिइएको छ। सबै प्रयोगशालाले क्वालिटी कन्ट्रोलको प्रोटोकल बनाउन लागू गर्न पनि भनिएको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिएका छन्।