वाइडबडी ल्याएको २ वर्ष बित्दा पनि टुंगो लागेन निगमको साउदी र कोरिया उडान

नेपाल खबर

काठमाडौँ
फाइल तस्बिर

नेपाल वायुसेवा निगमले अझै साउदीको रियाद र दक्षिण कोरियाको सउलमा नियमित उडानको टुंगो लगाउनसकेको छैन।

निगमले २७४ सिटे एयरबस ३३० (वाइडबडी) रियाद र सउल उडान गर्ने योजना बनाए पनि अहिलेसम्म उडान निश्चित गर्न नसकेको हो।

वाइडबडी भित्रिएको २ वर्ष बढी समय हुँदा निगमले जापानमा मात्रै थप नियमित उडान गर्नसकेको छ।

जापानमा पनि सुरुमा यात्रुको चाप कम भएको ओसाका उडान गरेको निगमले गत फागुनमा मात्रै नारिता उडान गर्न सुरु गरेको हो।

निगमले न्यारोबडी नै उडान गर्ने योजना बनाई चीनसँग मागेको अनुमति १ वर्षअघि मात्रै पाएको थियो। तर गत वर्षको सुरुमै चीनमा कोरोना फैलिएसँगै अनुमति पाएर उडान गर्न तयार भएको निगमले उडान गर्न सकेको छैन।

निगमले चीनमा अहिले उडान गर्न कुनै रोक नभए पनि यात्रु चाप कम हुँदा उडान नगरेको बताएको छ। अहिले नियमित उडान गर्दा सञ्चालन खर्च नउठ्ने निष्कर्ष निकालेको छ।

यात्रुको चाप बढ्ने सम्भावना हुनेबित्तिकै ग्वान्झाउमा नियमित उडान गर्ने दाबी गरेको छ। निगमले बेइजिङ र संघाई उडान गर्ने योजना पनि बनाएको छ।

रियाद र सउलमा कहिले होला उडान?
निगमले वाइडबडी भित्र्याउँदा लामो दूरीमा उडान गर्ने योजना रहेको बताएको थियो।

निगमले वाइडबडी खरिद गर्दा मुख्यतः चार गन्तव्य रियाद, सउल, ग्वान्झाउ र जापान उडान गर्न सकिने दाबी गरेको थियो। अर्बौँ ऋणमा ल्याएको जहाज दुई वर्षसम्म पनि योजनाअनुसार गन्तव्यमा उडान गर्नसकेको छैन।

प्रकाशित मिति: : 2020-11-22 15:42:00

प्रतिकृया दिनुहोस्