६० वर्षपछि तिब्बतको निर्वासित सरकार प्रमुख ह्वाइट हाउसमा, अमेरिका–चीन सम्बन्ध थप संकटमा

बिएल संवाददाता

न्यूयाेर्क

तिब्बतको निर्वासित सरकार प्रमुखले ६० वर्षपछि पहिलो पल्ट ह्वाइट हाउसमा अमेरिकी पदाधिकारीलाई भेटेका छन्। 

गत शुक्रबार सेन्ट्रल तिब्बेती प्रशासन (सीटीए) प्रमुख डा.लोब्साङ साङ्गेले ह्वाइट हाउसमा तिब्बती मामिलासम्बन्धि नवनियुक्त अमेरिकी विशेष संयोजक रोबर्ट डेस्ट्रोसँग भेटवार्ता गरेका थिए। 

भेटका क्रममा डा. साङ्गेले तिब्बती जनताको मागलाई बुलन्द रूपमा अगाडि बढाउन र निर्वासनमा रहेको आफ्नो सरकारलाई मान्यता दिन अमेरिकी प्रतिनिधिसँग माग राखेका थिए। सन् १९५० मा चीनमा कम्युनिस्ट शाषन स्थापना भएदेखि तिब्बत चीनको अधिनमा छ। 

चीनमा सांस्कृतिक क्रान्ति सुरु भएपछि तिब्बतका तत्कालिन राजा दलाई लामा सन् १९५९ मा भागेर भारत प्रवेश गरेका थिए। उनी ६१ वर्षदेखि भारतको धर्मशालामा बसोबास गर्दै आइरहेका छन्। 

पहिले लामाकै नेतृत्वमा निर्वासनमा रहेका तिब्बतीहरूले स्वतन्त्रताको माग उठाउँदै आएका थिए। सन् २००१ मा निर्वासनमा रहेका तिब्बतीका लागि आफ्नो सरकार चुन्न दलाई लामाले एउटा संविधानलाई मान्यता दिएका थिए। त्यही संविधानमातहत निर्वासित तिब्बतीहरूले आफ्नो छुट्टै सरकार चुन्दै आइरहेका छन्।

चीनले तिब्बतलाई आफ्नो अभिन्न अंग मान्छ। एक चीननीति विपरित ६ दशकपछि तिब्बती नेतासँग ह्वाइट हाउसमा भएको भेटवार्ताले अमेरिका–चीन सम्बन्धलाई झन् बढी पेचिलो बनाउने स्पष्ट छ। 

डोनाल्ड ट्रम्पको चार वर्षे कार्यकालमा अमेरिका र चीनबीचको सम्बन्ध इतिहासकै सबैभन्दा तिक्ततापूर्ण बन्न पुगेको थियो। पहिले व्यापार युद्ध, त्यसपछि फाइभ–जी हुँदै अहिले तिब्बतको निर्वासित सरकारसँग ह्वाइट हाउसमा भएको भेटवार्ताले दुई देशको सम्बन्ध झन् बढी बिग्रिने पक्का छ। 

तिब्बतसँग जोडिएको सीमालाई लिएर सन् १९६२ मा चीन–भारतबीच युद्ध भइसकेको छ। अहिले पनि तिब्बतसँग जोडिएको सीमा विवादलाई लिएर चीन–भारतबीच विगत एक वर्षदेखि तनावपूर्ण स्थिति छ। यसले नेपाललाई समेत प्रभावित तुल्याएको छ। 
अमेरिकी प्रशासनले ह्वाइट हाउसमा निर्वासित तिब्बेती सरकार प्रमुखलाई भेट्नु भनेको सीटीएलाई अमेरिकाले औपचारिक मान्यता दिनु रहेको केही विश्लेषकको भनाई छ। सीटीएको मुख्यालय दलाई लामो बसोबास गर्ने धर्मशाला मै रहेको छ। 

‘तिब्बतको निर्वासित प्रशासन, प्रजातान्त्रिक रूपमा हामीले छानेको नेतृत्व र आदरणीय गुरू दलाई लामाले आफ्नो राजनीतिक विरासत सीटीएमलाई हस्तान्तरण गरिसकेको अवस्थामा (अमेरिकाको) औपचारिक मान्यता र सम्मान रहेको तपाईहरूलाई सुनाउन पाउँदा मलाई गर्वका साथै खुसी पनि लागेको छ,’ साङ्गेले भ्वाइस अफ अमेरिकासँगको अन्तर्वार्तामा भनेका छन्। 

उनले तिब्बती मुद्धाको उत्सुक्ता, तिब्बतीहरूले स्वतन्त्रताका लागि यसअघि गरेको संघर्षको विषयमा कुराकानी भएको बताउँदै भने, ‘मैले तिब्बतीहरूको अवस्थामा कसरी सुधार ल्याउने तथा तिब्बतमा बसोबास गर्ने तिब्बतीको आधारभूत स्वतन्त्रता कसरी स्थापित गराउने भन्ने विषयमा पनि कुरा राखेँ।’ 

यसै वर्ष वासिङ्टन र बेइजिङबीचको सम्बन्ध त्यति बेला बिस्फोटको चरणमा पुगेको थियो, जब अमेरिकी विदेश सचिव माइक पोम्पियोले गत डिसेम्बरमा स्टेट डिपार्टमेन्टमा आयोजना भएको पत्रकार सम्मेलनमा भनेका थिए, ‘चीनले तिब्बतमा गरेको दख्खललाई लिएर अमेरिकाको गम्भीर असहमति छ।’

प्रकाशित मिति: : 2020-11-22 12:23:00

प्रतिकृया दिनुहोस्