निजी क्षेत्र बलियो हुने बेलामा गलत दिशामा जाँदै त छैनौं !

बाह्रखरी

काठमाडौँ
तस्बिर : बाह्रखरी

नेपाल उद्योग वाणिज्य महासंघको चुनावसहितको वार्षिकसाधारणसभा यसैसाता काठमाडौंमा हुँदैछ । ११ देखि १३ गतेसम्म तय गरिएको साधारणसभाको मिति तय गरिएको हो । अध्यक्षबाहेक वरिष्ठ उपाध्यक्षदेखि कार्यकारिणी सदस्य चयन गर्नेछ । विशेषगरी अहिले वर्तमान उपाध्यक्षद्धय चन्द्र ढकाल र किशोर प्रधानले प्यानलसहित उमेद्वारी दिएका छन् । 

तर, महासंघलाई सशक्त बनाउन, हालको परिस्थितिको सामना गर्न सहमतिका आधारमा वरिष्ठ उपाध्यक्ष छानिनुपर्छ भन्ने कुरा पनि जोडतोडले उठेको छ ।  विशेषगरी पूर्वअध्यक्षहरुले सहमतिलाई जोड दिँदै आएका छन् । सहमतिका लागि पूर्वअध्यक्ष रविभक्त श्रेष्ठले दुवै उमेदवारसँग पटक पटक छलफल गरेका छन्, तर निकास भने निस्किसकेको छैन । 

यसै विषयमा सुरुवातदेखि सहमतिका लागि उमेदवारसँग छलफल गर्दै आएका पूर्वअध्यक्ष रविभक्त श्रेष्ठसँग महासंघको निर्वाचनमा केन्द्रित गरेर बाह्रखरीका हिमाल पौडेलले गरेको कुराकानी :

नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभाको दिन नजिकिँदै छ । निर्वाचन पनि हुने भएकाले उमेदवारहरुको दौडधुप चलिरहेको छ । देशभरका उद्योगी व्यवसायी सहभागी हुने भएकाले यो साधारणसभाले के कुरालाई जोड दिनुपर्ने देख्नुहुन्छ ?

मंसिरको ११, १२ र १३ गते साधारणसभा हुँदैछ । ११ गते उद्घाटन, जिल्ला जिल्लाबाट आउने उद्योगी व्यवसायीबीच १२ गते छलफल र १३ गते चुनाव हुन्छ । चुनावीवर्ष समेत भएको हुनाले साधारणसभा चुनावमा बढी केन्द्रित छ । चुनाव हुने भएकाले पदाधिकारी, कार्यसमिति सदस्यमा उठ्नुभएका साथीहरु बढी त्यसैमा केन्द्रित हुनुभएको छ, त्यो स्वाभाविक पनि हो । 

मुलुकमा अहिलेको परिस्थितिबारे लामो व्याख्या गरिरहनुपर्ने नै छैन, परिस्थितिबारे सबै जानकार छौं । कोभिड १९ ले विश्वसहित नेपालको आर्थिक, सामाजिक क्षेत्रमा ठूलो असर पारेको छ । 

यसले आर्थिक क्षेत्रमा ठूलो असर परेको छ । उद्योग, व्यापार, व्यवसाय सबै क्षेत्रमा गम्भीर असर पारेको छ । अझै पनि कुनै उद्योगहरु बन्द नै छन्, कतिपय आंशिक रुपमा मात्रै चलेका छन् । सेवा क्षेत्रका सबै होटेलहरु बन्द नै छन् । यसैको असरका कारण उद्यमी, व्यवसायीले समयमै साँवा, ब्याज पनि तिर्न सकिरहेका छैनन् । 

यो अवस्थामा सरकारले आर्थिक क्षेत्रको उत्थानका लागि के के गर्नुपर्छ भन्ने विषयमा सुझावहरु दिनुपर्दछ । आर्थिक क्षेत्रको उत्थानका लागि सरकारलाई दबाब दिने वा सहकार्य गर्ने भन्ने विषय अति महत्वपूर्ण छ, अहिलेको समय । सरकारले सहयोग नगरेको होइन । बैंकको ब्याज तिर्नेदेखि अन्य विषयमा पनि सरकारले सहयोग गरेको छ तर जुन प्रकारले स्टिमुलस प्याकेज दिनु पर्दथ्यो, त्यो दिन सकिरहेको छैन । 

अहिलेको अति महत्वपूर्ण समयमा महासंघको चुनाव हुँदैछ । हरेक वार्षिक साधारणसभामा एजेन्डाहरु पहिले नै तय हुन्थ्यो । 

प्रकाशित मिति: : 2020-11-22 11:51:00

प्रतिकृया दिनुहोस्