ट्रम्पका कारण जोखिममा पर्दै अमेरिकी राष्ट्रिय सुरक्षा

संजोग आचार्य

न्युयोर्क

राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै सम्पन्न चुनावमा आफ्नो पराजय स्विकार गर्न नमानेपछि अमेरिकी सुरक्षा निकै गम्भीर मोडमा आएर उभिएको छ।  

सन् २००१ मा अमेरिकाममा नाइन–इलेभनको घटना हुनुमा ढिलोगरी सत्ता हस्तान्तरण भएको घटनालाई मुख्य कमजोरी मानिएको थियो। अमेरिकाको ट्वीन्स–टावरमा भएको आतंकवादी हमलापछि अमेरिकी सरकारले एउटा छानवीन समिति गठन गरेको थियो। समितिले बुझाएको रिपोर्टमा प्रशासनतन्त्रमा देखिएको कमजोरीका कारण नाइन–इलेभेनको घटना भएको स्पष्ट छ।  

हालको जस्तै अवस्था सिर्जना नभए पनि सन् २००० मा चुनाव सम्पन्न भएपछि सम्पूर्ण निकायलाई सत्ता हस्तान्तरण गर्न ढिलाई भएको थियो। यसले नाइन–इलेभेन जस्तो घटना निम्त्याएको रिपोर्टमा बताइएको छ। 

अहिले अमेरिकामा राष्ट्रपति चुनाव सम्पन्न भएर यसको नतिजा सार्वजनिक भएको पनि दुई साताभन्दा बढी समय बितिसकेको छ र डेमोक्रेटिक पार्टीका जो वाइडेनले ३ सय ६ इलेक्ट्रोरल भोट प्राप्त गरिसकेका छन्। यस्तो अवस्थामा ट्रम्प सत्ता सुम्पिन अस्विकार गरिरहेका छन्। 

सन् २०१६ मा ट्रम्पले यति नै भोट प्राप्त गर्दा आफूले धेरै मत ल्याएको दावी गरेका थिए। अहिले ट्रम्प न नतिजा अस्विकार गर्न सकिरहेका छन्, न सत्ता सुम्पिन तयार देखिन्छन्। यसले राष्ट्रिय सुरक्षामा गम्भीर चुनौती देखा परेको विश्लेषकको दावी छ। 
अमेरिकामा बैधानिक किसिमले सत्ता सुम्पिएपछि राष्ट्रिय सुरक्षा एजेन्सीहरूले नवनियुक्त अमेरिकी राष्ट्रपतिलाई सुरक्षासँग सम्बन्धित सबै जानकारी उपलब्ध गराउने चलन छ। 

ट्रम्पले दुई सातादेखि सत्ता हस्तान्तरण गर्न नमानेको हुनाले वाइडेन र कमला ह्यारिसलाई हालसम्म इन्टेलिजेन्स ब्रिफिङ भएको छैन। 

यसलाई अमेरिकी सुरक्षा विश्लेषकहरूले सन् २००१ जस्तै अशुभ संकेत मानेका छन्। 
अमेरिकाको चर्चित टेलिभिजन सीएनएनले ट्रम्पले लामो अमेरिकी परम्परालाई तोडेको आरोप लगाएको छ। 

सीएनएनको रिपोर्टमा अमेरिकामा चुनावको नतिजा सार्वजनिक हुनेवित्तिकै सत्ता हस्तान्तरण गर्ने परम्परा रहेको उल्लेख छ। ‘वाइडेनले टिम तयार पारिसकेका छन्। तर, ट्रम्पको आदेशका कारण ती अधिकारीले कुनै जानकारी पाउन सकिरहेका छैनन्,’ सीएनएनले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ। 

अमेरिकामा राष्ट्रपति नै आर्मीको प्रमुख हुने नियम छ। नवनियुक्त राष्ट्रपतिलाई ह्वाइट हाउसको ओभल कार्यालयले दुई महिनादेखि देशको संवेदनशील सुरक्षाको जानकारी गराउने गर्दछ। यस्तो अवस्थामा वाइडेनलाई अहिलेसम्म इन्टेलिजेन्स ब्रिफिङ भएको छैन। 

सामान्यतया इन्टेलिजेन्स एजेन्सीले सिनेटको एउटा विशेष कमिटीलाई पनि सुरक्षासम्बन्धि दस्तावेज उपलब्ध गराउने चलन छ। तर, निकै संवेदनशील र गोप्य विषय राष्ट्रपति तथा सुरक्षा व्यवस्थासँग सम्बन्धित व्यक्तिलाई मात्र ब्रिफिङ गर्ने चलन छ। 

अहिलेसम्म नेशनल इन्टेलिजेन्सका निर्देशकलाई ट्रम्पले गोप्य सूचना वाइडेनलाई उपलब्ध गराउन मञ्जुरी दिएका छैनन्। यसले अमेरिकी सुरक्षामा अर्को खतरा उत्पन्न हुनसक्ने विश्लेषकहरूको दावी छ। उनीहरू वाइडेनले राष्ट्रपतिको सपथ खाएपछि सुरक्षा सम्बन्धित निर्णय तुरुन्त लिन नसक्ने बताउँछन्। 

बिल क्लिन्टन र जर्ज बुसको सत्ता हस्तान्तरणको बेला सीआईएको निर्देशक रहेका डेभिडले एउटा अन्तर्वार्तामा भनेका छन्, ‘यो संवेदनशील परिस्थिति हो। यसको ठूलो मूल्य देशले चुकाउन सक्छ।’

बाराक ओबामाको कार्यकालमा वाइडेन ८ वर्ष उप–राष्ट्रपति भइसकेका व्यक्ति हुन्। त्यसैले उनी प्रशासन तथा इन्टेलिजेन्स ब्रिफिङको विषयमा गम्भीर तथा जानकार मानिन्छन्। अझ नवनियुक्त उप–राष्ट्रपति ह्यारिस सिनेटमा इन्टेलिजेन्स कमिटीको सदस्य नै छिन्। त्यसैले उनीहरू यसको संवेदनशीलताप्रति जानकार भएको भनाई पनि छ। 

वाइडेनले एक अन्तर्वार्तामा भनेका पनि छन्, ‘मेरो लागि राम्रो कुरा भनेको, मेरो सहयोगी कमला ह्यारिस सिनेटमा इन्टेलिजेन्स कमिटीको सदस्य भएको हुनाले उनीसँग इन्टेलिजेन्स ब्रिफिङ छ।’

रिपब्लिकन पार्टीका सिनियर सिनेटर तथा ट्रम्पका सहयोगी लिन्ड्से ग्राहमले पनि वाइडेनलाई सबै किसिमको इन्टेलिजेन्स ब्रिफिङ उपलब्ध गराउनुपर्नेमा जोड दिएका छन्। 

मेसन विश्वविधालयमा नेशनल सेक्युरिटी निर्देशक तथा बुसको सल्लाहकार रहेका एन जेफरले पनि ट्रम्पले गल्ती गरिरहेको आरोप लगाएका छन्। ‘राजनीति आफ्नो ठाउँमा होला। तर, देशको सुरक्षा पहिलो प्राथमिकता हो। मेरो जीवनमा यस्तो अवस्था पहिलो पल्ट देखिरहेको छु। यसलाई लिएर म निकै चिन्तित पनि छु,’ उनले भनेका छन्। 
 

प्रकाशित मिति: : 2020-11-22 08:33:00

प्रतिकृया दिनुहोस्