कम्युनिष्टलाई सक्ने भनेको कम्युनिष्ट आफैले नै हो, अरूले हैन। यसका दुइ चरण हुन्छन्, पहिलो आफ्नो वर्गीय चरित्र सक्ने त्यसपछि पार्टी सक्ने।
विश्व कम्युनिष्ट आन्दोलनका अनेक नजीरबाट यस्तै दृष्टान्त स्थापित भएको छ।कम्युनिष्ट सकिने स्थापित यो सूत्र नेपालमा पनि सुरू भैसकेको छ।
अहिले नेपालका कम्युनिष्टहरूले आफ्नो कम्युनिष्ट चरित्र सकिसके। अपवादलाई छोडेर माथिदेखि तलैसम्मका कम्युनिष्टहरू जो हिजो अरूलाई पेटीब्रुजुवा भन्थे, अहिले सबैभन्दा बढी पेटीब्रुजुवा उनीहरू आफैं भएका छन्।
अहिले स्थिति यस्तो भैसकेको छ कि अब त को कम्युनिष्ट चरित्रबाट स्खलित भएको छ भन्दा पनि को चाँहि बाँकि छ भन्ने स्थिति छ। यस्तो थेसिसमा हैन, एन्टी थेसिसमा बाँच्नुपर्ने अवस्थामा पुगेका कम्युनिष्ट नेता, कार्यकर्ताबाट कम्युनिष्ट पार्टी बच्छ भनेर कसरी आशा गर्ने?
नेपालमा कम्युनिष्ट पार्टी नामका अनेक पसल छन्। ती पसलमध्ये सबैभन्दा ठूलो पसल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) हो।
यसले आफूलाई नेपालको मूलधारको कम्युनिष्ट पार्टी दाबी गर्छ। अरूलाई हेर्नै पर्दैन, यसैलाई हृेरौ न यसको केन्द्रीय कार्यसमिमतिका अध्यक्षदेखि गाउँ कमिटीका अध्यक्षसम्ममा अब कुनै बर्गीय कम्युनिष्ट चरित्र नै छैन। यदाकदा अपवाद बाँकि होलान्, उनीहरूलाई सामान्यीकरण गरेर मूल चरित्र निर्धारण गर्न मिल्दैन र गर्ने कुरा पनि भएन।
यो नेकपालाई नेपाली जनताले झण्डै दुईतिहाइ बहुमत दिएर शासन सत्ता सुम्पे। उनीहरूको एउटै आशा थियो, देशमा सुशासन होला, हुनेखानेको हैन, हुँदा खानेको दिन आउला। तर, दुर्भाग्य त्यस्तो भएन। केही हुदाँ खानेहरू सत्ताको बैतरणी तरेर हुनेखाने भए, केही हुने खाने भैसकेकाहरू अरू बढी हुने खाने भए। सत्तामा फेरि अधिकांश भूतपूर्वहरू नै बर्तमान भए। उनीहरू आफू मात्र वर्तमान भएनन्, आफ्ना नातापाता र आसेपासेलाई पनि वर्तमान बनाए।
सत्तामा पुगेकाले यसरी आफ्नालाई पोसेर जनता हैन, आफू र आफ्नो गुटलाई बलियो बनाए। र, त्यो शक्तिको प्रहार सबैभन्दा पहिला आफ्नै पार्टीमा रहेकामाथि सुरू भयो। त्यो प्रहारको अर्को पक्षले जवाफ दिदा अहिले जे भैरहेको छ, त्यसको नांगो दृश्य हो, अहिलेको नेकपाको रडाको।
कम्युनिष्टको चरित्र नै के हो भने पहिला पार्टी बलियो बनाउने जब त्यो बलियो हुन्छ त्यसपछि गुट बलियो बनाउने अनि गुट पनि बलियो बनाएपछि व्यक्ति बलियो बनाउने। जब व्यक्ति बलियो हुन्छ, तब त्यसले कसैलाई गन्दैन। अनि उसले सबैभन्दा पहिला बलियो बनाएको पार्टीलाई छाँस्न थाल्छ। त्यसपछि सकिने भनेको कम्युनिष्ट पार्टी हो। अहिले नेपाल त्यही चरणमा प्रवेश गरेको छ।
कम्युनिष्ट अरूले सकेर सकिने हैन, आफैं सकिने हो। यसका दुई चरण हुन्छन्, पहिलो आफ्नो चरित्र सक्ने त्यसपछि पार्टी सक्ने। अहिले नेपालमा चरित्र सक्ने पहिलो चरण सकिएर पार्टी सक्ने दोस्रो चरण सुरू भएको छ। त्यसको नेतृत्व गर्ने एउटा पात्र चाहिन्छ, इतिहासले त्यो पात्रमा ओलीलाई चयन गरेको छ।
अहिले नेकपाका अध्यक्ष केपी ओली पार्टी छाँस्ने चरणमा छन्। उनका लागि अहिले सबैभन्दा ठूलो शत्रर कोही हैन, प्रचण्ड भएका छन्। जसले यो पार्टीलाई नम्बर १ बनाउन योगदान दिए र उनलाई प्रधानमन्त्री बन्ने अंकगणित दिए। त्यसपछिका शत्रुमा माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ आदि छन्। जसले यो पार्टी बनाउनका लागि सारा जीवन लगाएका छन् । अहिले ओली जहाँ छन्, उनीहरूले लगानी गरेको पार्टीका अध्यक्ष हुन्, त्यही पार्टीबाट प्रधानमन्त्री भएका हुन्। तर, अहिले ओलीका कमी कमजारी औल्याउँछन्, त्यसैले उनीहरू सबै ओलीको शत्रु कित्तामा छन्।
जब स्थिति यस्तो हुन्छ, तब त्यो पार्टीको भविष्य कसरी बाँकि हुन्छ र ? आआफ्नो स्वार्थका लागि अब मिले पनि नमिले पनि उनीहरूले पार्टी र आन्दोलनलाई यति हानी पुर्याइसके कि अब यो उठेर माथि जाने सम्भावना नै छैन।
निश्चित छ, नेपालमा कम्युनिष्ट पार्टी सकिने दिन सुरू भैसकेका छन्। किनकि, यसलाई सक्न यसका नेता कार्यकर्ता पहिलो चरणमा आफ्ना कम्युनिष्ट चरित्र सकेर पार्टी र आन्दोलन सक्ने दोस्रो चरणमा प्रवेश गरिसकेका छन्।
आखिर नसकेर पनि के प्रयोजन रह्यो र ? आखिर पार्टी सत्तामा पुगेर पनि भएको त केही हैन। न जनताले सुख पाए, न मुलुकले समृद्धि। केही नेता र उनीहरूका जोजोम्यानले पद र पैसा पाए। आखिर कम्युनिष्ट पार्टी त त्यतिका लागि मात्र त हैन होला नि ?