सीमालाई सबैले आदर्श पत्नीको उपमा दिएका थिए। उसले त्यो उपमा सित्तैमा पाएकी भने होइन, एक पत्नीको रूपमा ऊ साँच्चिकै आदर्श नै थिई।
तर आफ्नो श्रीमानको आदर्शताको अगाडि उसको आदर्श फिका पर्थ्यो। हो, उसका श्रीमान आदर्शतामा ऊ भन्दा एक कदम अगाडि थिएँ भन्ने उसलाई लाग्थ्यो।
त्यस्तो आदर्श श्रीमान पाएकोमा सीमाले आफूलाई निकै भाग्यमानी ठानेकी थिई र उनीप्रति गर्व पनि गर्थी।
उसले आफ्नो श्रीमानप्रति जति गर्व गर्थी सायद त्योभन्दा बढी डाह उनलाई देखेर सीमाका साथीहरूले गर्थे।
उसका श्रीमान थिए नै डाह गर्नका लायकका। सुन्दरता, पौरषता, नैतिकता,धन, विद्या र शिल स्वभाव सबैमा उनी निकै अब्बल थिए। सीमाले सोचेकी थिइनँ कि ऊ जस्ती सामान्य महिलालाई त्यति आदर्श पति प्राप्त होला भनेर।
सायद पूर्वजन्ममा उसले ठूलै धर्म गरेकी हुनुपर्छ भनेर उसका वरपरका मान्छेहरूले भन्ने गर्थे। अर्थात् सीमाले पतिको रूपमा आफ्नो सपनाको राजकुमार नै पाएकी थिई।
बिहेको सुरू सुरूमा मात्र लोग्ने मान्छेले प्रेम देखाएको जस्तो गर्छन् पछिपछि वास्ता गर्दैनन् भन्ने अधिकांश महिलाहरूको गुनासो हुन्छ, तर सीमाको सन्दर्भमा त्यो पनि सही निस्केन।
उसका पतिले उसलाई सधैं नै उत्तिकै माया र इज्जत गरिरहे, जति बिहेको सुरूका दिनहरूमा गर्थे।
उनको प्रेममा सीमाले कहिले पनि कमी भएको महसुस गर्न पाइनँ, न त उनको प्रेममा बनावटीपन या अन्य कुनै असामान्य प्रवृत्ति नै उसले देखी।
उनको जागिर पनि निकै राम्रो थियो। उनी भन्थे कि त्यो जागिरको कमाइमा सीमाको आधाभन्दा धेरै भाग छ। सीमाको जागिर भनेको घर परिवार सम्हाल्नु थियो र उनले सीमाको जागिर आफ्नो जागिरभन्दा कठिन र महत्वपूर्ण भएको उसलाई भन्थे।