समृद्धिको चित्र, विकास विचित्र : चितवनको देवघाटमा सडकको बीचमै रूख राखेर कालोपत्रे

देशको बजेट कहाँ खर्च भइरहेको छ ? कसरी खर्च भइरहेको छ ? चितवन देवघाटको यो चित्रले देशको विचित्र विकासलाई प्रस्ट देखाउँछ । 

जनताबाट संकलन गरिएको एक–एक रुपैयाँ राजस्वबाट चितवनमा सडक पिच गरिएको छ, जहाँ सडकको बीचमै ठाउँ–ठाउँमा सालका रूख ठिंग उभिएका छन् । 

सकड डिभिजन कार्यालय भरतपुरले चार किलोमिटर सडक मर्मत गर्न गत चैतमा नै ठेक्का दिएको थियो । जिएमआर नेपालले सडक मर्मतका लागि भ्याटसहित ७५ लाख २० हजार ६ सय ५२ रुपैयाँमा ठेक्का पाएको थियो ।

अघिल्लो वर्षको बजेटमा अहिले मंसिरमा मात्र हतार–हतार यसरी पिच गरिएको छ । मर्मत गरिएको सडकको पिच पनि कतै तीन मिटर, कतै पाँच मिटर छ । सडकको दायाँ–बायाँ छोड्नुपर्ने खाली जमिन पनि छैन । यो सडकबाट दिनमा दुई हजारभन्दा बढी मानिस ओहोरदोहोर गर्छन् ।

धार्मिक स्थल देवघाट जाने आँपटारी–देवघाट सडक ९० वर्षदेखि सञ्चालनमा छ । तर, सडक अहिलेसम्म व्यवस्थित हुन सकेको छैन । मुग्लिन–नारायणगढ सडकबाट पश्चिम–उत्तरतर्फ वन क्षेत्र हुँदै देवघाट पुगिन्छ । तर, ठेक्काको पैसा पचाउन वातावणीय प्रभाव मूल्यांकन (इआइए)समेत नगरी सडक पिच गरिएको छ । सडक डिभिजन कार्यालयले बजेट ‘फ्रिज हुने भय’ देखेपछि इआइएविना नै हतारहतारमा सडक मर्मत गरिएको जनाएको छ । ‘सडक मर्मत गर्नैपर्ने भयो, वातावरणीय प्रभाव मूल्यांकन गर्दा समय लाग्ने भयो, मूल्यांकन नभएसम्म रूख काट्न मिल्दैन । त्यसैले उपलब्ध ठाउँमा पिच गरिएको हो,’ सडक डिभिजन भरतपुरका प्रमुख कृष्ण अधिकारीले नयाँ पत्रिकासँग भने । अहिले बजेट खर्च गरिएको सडकलाई फुटपाथसहित सात मिटरको बनाउन सर्भेसमेत भइरहेको कार्यालयले जनाएको छ । 

प्रकाशित मिति: : 2020-11-21 11:11:00

प्रतिकृया दिनुहोस्