भारतीय सेनाको स्थल सेनाध्यक्ष मनोजमुकुन्द नरवाणेले पनि राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र समकक्षी प्रधानसेनापति पूर्णचन्द्र थापालाई भेट गर्नुले पनि तरंग ल्याएकै छन्। नरवाणेको भेटले भने सीमा सकसमा सुधारको संकेत देखिएको धारणा पनि आएका छन्।पटक–पटक बल्झिरहने सीमा विवाद (चाहे भारतसँगको होस् चाहे चीन) बारे निष्पक्ष ढंगले विज्ञ समूह बनाएर निरन्तर सीमाबारे अध्ययन अनुसन्धान गरिरहनु पर्ने इतिहासविद् प्राध्यापक दिनेशराज पन्तले सुझाएका छन्।
सिन्धुलीको पौवागढीमा १८२४ असोज १५ गते भएको लडाइँमा गोर्खालीहरूले इस्ट इन्डिया कम्पनीका क्याप्टेन जर्ज किनलकको नेतृत्वमा आएको सैन्यलाई हराइदिए। यदि त्यसबेला अंग्रेजी सेनालाई नेपाली सेनाले हराउन नसकेको भए नेपालको पुन : एकीकरण हुन्थेन र अंग्रेजको राज्यभित्रै नेपाल पर्न आउँथ्यो। १८७१–७२ सालमा नेपाली राज्य पूर्वमा टिष्टा नदीदेखि पश्चिममा सतलज नदीसम्म थियो। अंग्रेजहरू अलि बलियो भइसकेका र आन्तरिक कारणले नेपालको स्थिति त्यति राम्रो नभएको अनुभव गरी अंग्रेजले विभिन्न ठाउँबाट नेपालमा आक्रमण गरे। १८७१ सालको दसैं पारेर अंग्रेजले सुरु गरेको त्यो युद्ध १८७१–७२ सालमा भएको थियो। अन्त्यमा, सुगौली सन्धिको रूपमा तीन खण्डको एक खण्ड राज्य गुमाएर टुंगियो।
सुगौली सन्धि हुनुभन्दा अगाडि अंग्रेजहरूले नेपालसँग महाकाली नदी पश्चिमदेखि सतलजसम्मको प्रदेश र मेचीभन्दा पूर्वको टिष्टासम्मको प्रदेश र सम्पूर्ण तराई समेत मागे। नेपालीले पूर्वको र पश्चिमको प्रदेश गएकोमा चित्त दुखाए तापनि सान्त्वना लिए तर तराई जाने कुरामा धेरै चित्त दुखाए। तराई दिन सक्दैनौं किनभने त्यहाँ हाम्रा भारदारहरूको जागिर पनि छ तर अंग्रेजले तराई छोड्ने कुरा गरेनन् र जागिरका लागि कति चाहिन्छ भनी सोध्दा दुई लाख रुपैयाँ चाहिन्छ भनेर नेपालीले भने। त्यो रकम बढाएर पनि भनेका होलान्। सुगौली सन्धि हुँदा कम्पनी सरकारले नेपाललाई दुई लाख रुपैयाँ दिने भनेर लेखियो पनि। तर नेपालीहरूले त्यो दुई लाख रुपैयाँ बुझेनन्। तर, अरूको पैसा खाएपछि आफ्ना भाइभारदार अंग्रेजकै पक्षमा हुन्छन् भन्ने भाव नेपालीको बुझेको अंग्रेजले सुगौली सन्धि भएको नौ महिनापछि मेचीदेखि राप्तीसम्मको तराई फिर्ता दिने सन्धि गर्यो। त्यसैताका भारतमा पश्चिमतिरबाट मरहठ्ठाहरूको आक्रमण सुरु भएको र नेपालीहरूको पनि तराईप्रति ज्यादै लगाव छ भन्ने बुझेको अंग्रेजले तराई छोड्ने विचार गर्यो।