नेपाल कोभिड-१९ संक्रमणको विश्व रोल नम्बर ३६ मा पुगेको छ। एक हजार दुई सय ९८ मृतक र दुई लाख १६ हजार नौ सय ६५ संक्रमित संख्याका साथ नेपाललाई यो विश्व रोलक्रम मिलेको हो।
कोरोना संक्रमणको विश्व नक्सामा अब नेपालभन्दा अगाडि ३५ देश मात्र छन्, बाँकि सबैलाई नेपालले पछाडि पारिसकेको छ। यसमा अगाडि हुनु योग्यता हैन, अयोग्यता हो।ओली सरकारको चरम अयोग्यता यसरी नेपाली जनतालाई संक्रमण र लाश उपहार दिइरहेको छ।
कोभिड १९ स्वाव परीक्षणको सिमीतता, स्वास्थ्य सुविधाको पहुँच र जनचेतनाको अभावका बीच पनि यो संख्या चानचुने हैन। त्यसमा पनि तीन करोडको हाराहारी जनसंख्या भएको र ठूलो संख्यामा परदेशमा रहेको नेपालको यो हालत भयावह नै हो। र, सरकारको पछिल्लो रबैया र कोरोना कहरको अवस्था हेर्ने हो भने यो ग्राफ अरू उकालो चढ्ने निश्चित छ।
यो अवस्था सिर्जना हुनुमा सबैभन्दा ठूलो दोष कस्को हो ?
यो विश्व महामारी हो। त्यसैले यो ल्याउनुमा नेपालको कुनै भूमिका छैन। तर, आज यो जुन अवस्थामा पुगेको छ, त्यो ल्याउनमा भने ओली सरकार धेरै जिम्मेवार छ। यसको फेहरिस्त लामो हुन सक्छ। तैपनि केही प्रतिनिधि टिपोट यस्ता हुन सक्छन्।
पहिलो त प्रधानमन्त्री ओलीको सोच नै अवैज्ञानिक छ। उनले यो रोगलाई यति हलुकासँग लिए कि उनले के सम्म मात्र भन्न बाँकि राखेनन् ? कहिले हाच्छ्यु गरेर उडाउन सकिने भने, कहिले तातो पानीले ठीक पार्ने भने त बेसार पानीले छु मन्तर हुने जस्ता अनेकौ पेस्कृप्सन त कयौपटक दिए। उनको यही सोचलाई बोक्ने उनका क्याविनेटका थुप्रै सदस्य कोभिड १९को संक्रमणमा परे। साँच्चै भन्ने हो भने ओलीको सोच अमेरिकाका राष्ट्रपति ट्रम्पको जस्तो छ, ठ्याक्कै फोटोकपी छ।
कुनै बेला ओलीका मानिसहरू 'यसपालीको हैजा..... लाई लैजा' भन्दै सडकमा नारा लगाउँथे। यसपाली त अरू पार्टीका मानिस नै चाहिदैन, आफ्नै पार्टीका मानिसले भन्ने दिन टाढा छैन, 'यसपालीको कोरोना .....लाई लैजा'। भनेर त के हुने हो र ? तैपनि सुन्दा त राम्रो लाग्दैन नि ।
दोस्रो, ओलीको स्वास्थ्यमन्त्री भानुभक्त ढकालको पृष्ठभूमि र योग्यता अहिलेको प्रतिकुल अवस्थालाई नेतृत्व दिन सक्ने नै छैन। ढकाल आज जहाँ पुगेका छन्, त्यो सबै ओलीलाई प्रतिकुल अवस्थामा साथ दिए वापत मिलेको पुरस्कार मात्र हो। यसो भन्दा उनको रिसको पारो चढ्ला तर सत्य के हो भने उनीजतिको योग्यता भएका मानिस नेकपामा हजार हैन, लाखौ छन्। उनी आफैं होस्ल्याङे भएर कोभिड १९ संक्रमित भए। स्वास्थ्यमन्त्री नै कोभिड १९ को शिकार हुने भने पछि त्यसको सन्देश आम मानिसमा के जान्छ ?
तेस्रो, स्वास्थ्य मन्त्रालयको नोकरशाहीतन्त्र पनि अस्थीर बनाइयो। सचिव फेर्ने, प्रवक्ता फेर्ने, महानिर्देशक फेर्नेलगायतका काम एकपटक हैन, पटक पटक भए। यी सबै कामको कोणबाट पनि कमिशन एजेन्टको चाहनामा बढी भए। ओली र उनका क्याविनेटको गुडबुकमा परेका ओम्नीलगायतका एजेन्टहरूलाई पोस्ने कोणबाटै स्वास्थ्य मन्त्रालयको स्थायी सरकारलाई पनि पंगु बनाइयो। यसले पनि नेपाललाई कोरोना कालमा पूर्णत: नेतृत्वविहीन बनायो।
चौथो, कोभिड-१९ सँग जुध्नका लागि सरकारसँग कुनै योजना नै भएन। लकडाउन गरेपछि सबै ठीक हुन्छ भनेर ओलीतन्त्र चुप लागेर बस्यो। त्यो समयमा कुनै तयारी नै गरेन। कहिले के निर्णय गर्यो, कहिले के ? हचुवाका भरमा अनेक निर्णय भए। कहिले उच्चस्तरीय संयन्त्र भन्ने बनाइयो, कहिले भत्काइयो। कहिले अर्को संयन्त्र बनाइयो, त्यो पनि भत्काइयो। विदेशमा रहेका नेपालीलाई ल्याउने कुरामा पनि एकरूपता भएन, त्यसमा पनि महंगो भाडा असुल्नेलगायतका अनियमितता र पापकर्म भए।
पाँचौ, ओलीको सत्तारूढ दलमा खटपट सुरू भयो। त्यो खटपटका जनक पूरापुर आफूलाई पार्टीको एक नम्बर अध्यक्ष भन्न चाहने ओली शैली र प्रवृति नै थियो। उनले सरकारलाई पार्टीभन्दा माथि राख्ने र आफूलाई प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीका रूपमा बुझेर त्यहीअनुसार आफ्नो कोटरीको सरकार चलाउने जुन सोच राखे, त्यही नै गलत थियो। अहिले उनी त्यही आफूले रोपेको विषले पुरिने अवस्थामा छन्। उनका लागि जनताको स्वास्थ्य हैन, आफ्नो कुर्सी कसरी सुरक्षित गर्नेभन्दा पर कुनै सोच नै छैन।
छैठौ, ओलीतन्त्रले यो सरकार पार्टीको हो, जनताको हो भन्ने सोच्ने ठाउँ नै दिएन। उसले यो सरकार ओलीको भन्ने मात्र बनाइ रह्यो। सरकारले सबैलाई समेटेर लैजाने ठूलो हृदय देखाउनै सकेन। आफ्नै पार्टीको त सरकार भएको अनुभूति दिन नसक्ने सरकारले अरू पार्टी र आम जनतालाई त्यस्तो दिने कुरै भएन। परिणामत: यो सरकार पूर्णत: एक्लो भयो र केही गर्नै नसक्ने अवस्थामा पुग्यो।
सातौ, यो सरकारसँग ल्याकत नै छैन। ल्याकत हुनका लागि कि आफूसँग योग्यता हुनु पर्यो, कि योग्य मान्छेको कुरा सुन्नु पर्यो। ओलीको औपचारिक शिक्षा पनि कम छ त्यसैले उनलाई औपचारिक शिक्षा बढी भएका मानिस मन पर्दैनन्। मन नपर्ने मात्र हैन, त्यस्ता मान्छेलाई घृणा नै गर्छन्। उनी विवेक भएका मानिससँग सधैं पौठेजोरी खेल्छन् र जोजोम्यानको क्याम्प बनाउँछन्।
प्रकारान्तरमा के भयो ? त्यसको नतिजा नेपालको ताजा कोरोना अवस्था हो।
तर, अर्को कोणबाट हेर्दा ओलीतन्त्रलाई कोरोना पनि वरदान नै भएको छ। ल्याकतको अभाव र नियमा खोटका कारण केही गर्न सकेको छैन तर भन्ने बहाना मिलेको छ कोरोनाले गर्दा गर्न सकिएन। कतै ओलीले भनेको पढेको थिएँ, 'कोरोनाले समृद्धिको बाटो रोकिदियो।'
कुनै बेला ओलीका मानिसहरू 'यसपालीको हैजा..... लाई लैजा' भन्दै सडकमा नारा लगाउँथे। यसपाली त अरू पार्टीका मानिस नै चाहिदैन, आफ्नै पार्टीका मानिसले भन्ने दिन टाढा छैन, 'यसपालीको कोरोना .....लाई लैजा'। भनेर त के हुने हो र ? तैपनि सुन्दा त राम्रो लाग्दैन नि ।
बाँकि बु्झ्नेलाई इशारा नै काफी छ।