सामान्यत १७ वर्षीय नेपाली किशोरको तौल कति हुन्छ? तपाईंहरूलाई लाग्न सक्छ, ४० केजी या ५० केजी। एकछिनलाई भनौं न सय केजी। तर, होइन। तपाईंहरूलाई पत्याउन गाह्रो पर्ला– मोरङ मिक्लाजुङ—४ का गणेश तामाङको तौल १ सय ३५ केजी छ भनेर सुन्दा।
धेरै तौल भएकै कारण तामाङलाई डेढ किलोमिटर टाढा रहेको विद्यालय पुग्न पनि डेढ घण्टा लाग्छ। औसत मानिस त्यति बाटो १० मिनेटमा छिचोल्छन्। यही कारण उनलाई स्कुल पढ्न छोडौँ–छोडौँ जस्तो लाग्छ। उनी मोरङको मिक्लाजुङढ्ग–४ सफेवा माध्यमिक विद्यालय कक्षा–१० मा पढ्छन।
विद्यालयका प्रधानाध्यापक कुलबहादुर तामाङका अनुसार गणेश कक्षा– १ मा पढ्दा ताका नै ६० किलोका थिए। जन्मिएको ७ महिना मै गणेशको तौल ३० केजी भइसकेको थियो।
गणेशको खानपान र दैनिकी सामान्य छ। घरको सानातिना काममा पनि उनी सघाउँछन्। तर उनको शरीरले उनलाई चाहेअनुसार काम गर्न दिँदैन। गणेश भन्छन्, ‘विद्यालय जान र आउन गाह्रो लाग्छ।’
धेरै मोटो जिउँ भएकाले उनको नाम नै गणेश जुराइदिएको बाबु मानबहादुरले बताए। तर, गणेश नामबाट उनी अहिले सन्तुष्ट छैनन्। उनले भने–‘धेरैले हात्ती भनेर जिस्क्याउँछन्।’
मोटो भएकोले उनलाई स्कुलका अधिकांश विद्यार्थीले नजिकबाट चिन्छन्। स्थानीय महेन्द्र थेगीम भन्छन्, ‘गणेश मोटो छ, हिँड्दा हल्लिँदै हिँड्छ। नयाँ मान्छेले देखे भने एकछिन उभिएर हेर्छन।’ स्कुलमा कोही पाहुना आए भने उसँग सेल्फी फोटो खिच्ने गर्छन। गणेशको पढाई भने सामान्य रहेको विद्यालयका प्रधानाध्यापक तामाङले बताए। शिशु कक्षादेखि सोही विद्यालयमा पढ्दै आएका गणेशको तौल केही वर्षयता आश्चर्य ढङ्गले बढिरहेको छिमेकीको भनाई छ।
मानबहादुरका दुई छोरा र दुई छोरी छन्। अरू सबैको तौल औसत मानिसको झैँ छ। गणेशको तौल नियन्त्रण गर्नका लागि उपचार गराउन समेत आर्थिक अभाव रहेको दिदी सरस्वतीले बताइन्। ‘भाई धेरै पढेर शिक्षक बन्छु भन्छ। आर्थिक अभावले पढाउन र उपचार गर्न समस्या छ,’ सरस्वतीले भनिन्, ‘गाउँको पढाई सकेर अन्यत्र गएर पढ्न पढाउन भाईलाई मोटो शरीरले गाह्रो हुन्छ। के गर्ने होला नि अब दैब।’
१७ वर्षको उमेरमै उनको तौल १ सय ३५ किलो पुगिसकेको छ। उनको तौल यही हिसाबले बढ्ने हो भने के होला? तामाङ परिवारका लागि अहिले ठूलो चिन्ताको विषय बनेको छ।