बार्सिलोनाले कप्तान मेसीलाई जनवरीमा नबेच्ने !

बिएल संवाददाता

काठमाडाै‌ं

 क्याटलान क्लब बार्सिलोनाले कप्तान लिओनेल मेसीलाई बेच्न नसक्ने बताएको छ।  

इंग्लिस क्लब म्यानचेस्टर सिटीले सिजनको अन्त्यपछि अर्जेन्टिनी फरवार्ड मेसी ल्याउने चर्चा चलिरहेको बेला बार्सिलोनाको अहिलेको कामचलाउ कमिटीले उनलाई जनवरीमा बेच्न नसक्ने जनाएको हो।

सन् २०१७ को सम्झौतामा सिजनको अन्त्यमा क्लब छाड्न सक्ने बुँदा थपिएको मेसीको भनाइ छ। सो सम्झौता २०२१ सम्म भए पनि मेसीले चाहेको बखत क्लब छाड्न सक्ने सो बुँदाले प्रष्ट पारेको मेसीका वकिलले तर्क गर्दै आएका छन्।

क्लबसँग सम्बन्ध सुमधुर नभएका मेसी जनवरीको सुरुवामा सिटी जान सक्ने जनाइएको थियो। तर समितिसँग सिमित मात्र अधिकार रहने भएकाले ठूलो सुरुवाको निर्णय गर्न नसक्ने बताइएको छ। जसका कारण मेस्सी विक्रीको सम्भावना न्यून रहेको छ। मेस्सी अहिले पनि क्लबसँग खुसी नरहेको बताइन्छ।

सिजनको सुरुवातमै क्लब छाडने भन्दै मेसीले पत्राचार समेत गरिसकेका  थिए। उनले थप विवादमा जानु भन्दा सम्झौता रहँदासम्म बस्न तयार भएको जनाइन्छ।

यद्यपी मेसीले आफूमाथि बार्सिलोनाको समस्या आउँदा लाग्ने गरेको आरोपबाट आजित भएको बताएका छन्।

फरवार्ड एन्टोइन ग्रिजमनका पूर्व एजेन्टले क्लबमा मेसीले आतंक रहेको आरोप लगाएपछि उनले खेल्न आफूलाई सहज नभएको बताएका थिए।

यद्यपी उनले गत सिजन बार्सिलोनालाई कुनै उपाधि जिताउन सकेनन्।  यो यसका साथै यो सिजन मेसीले सोचे अनुरुपको प्रदर्शन गर्न सकेको छैन।

यता सञ्चारमाध्यमहरुका अनुसार सिटीले मेसीका लागि ५० देखि ६० मिलियन युरोको प्रस्ताव राख्न सक्ने उल्लेख गरेका छन्।

गत सिजन च्याम्पियन्स लिगमा बायर्न म्युनिख सँग क्वार्टरफाइनलमा ८–२ को हारपछि मेस्सीले क्लब छाड्ने व्यापक चर्चा चलेको थियो। 

तर बार्सिलोनाले मेसीको रिलिज क्लज ७ सय मिलियन युरो राखेको थियो। यो क्लज मेसीले तिर्न नसकेपछि उनी बार्सिलोनामै बसेका थिए।

यता स्पेनिस प्रशिक्षक पेप ग्वार्डिओलाले इंग्लिस क्लब म्यानचेस्टर सिटीसँग  बिहीबार थप दुई वर्षको लागि सम्झौता नवीकरण गरेका छन्।

ग्वार्डीओलाको बसाईं लम्बिनुले मेसी सिटी आउने सम्भावना बलियो भएको बताइन्छ। सिटीले यसअघि पनि पटक पटक मेस्सीलाई भित्र्याउने इच्छा जाहेर गरेको थियो।

यसअघि सिटीले मेसीलाई तीन वर्षको सम्झौताको प्रस्ताव अघि सारेको थियो।

मेसीका लागि सिटीपछि अमेरिकन मेजर सकर लिग टिम न्युयोर्क सिटीमा जान सक्ने प्रस्ताव पनि अघि सारिएको थियो। न्युयोर्क सिटी म्यानचेस्टर सिटीकै कम्पनी सिटी फुटबल ग्रुपको स्वामित्वमा रहेको क्लब हो। कतारका लगानीकर्ताको ग्रुपअन्तर्गत विश्वभर दर्जनौ क्लब रहेका छन्।

३३ वर्षीय मेसीलाई भित्र्याएर सिटी इतिहासमा पहिलो पटक च्याम्पियन्स लिग जित्न चाहान्छ। 

त्यसपछि मेसीले चाहे न्युयोर्क सिटीमा जान सक्नेछन्। सिटीले खेल जीवनपछि पनि मेसी सिटी फुटबल ग्रुपको एम्बासडरको रूपमा रहने अर्को प्रस्ताव गरेको छ।

सन् २०१६ मा जर्मन क्लब बायर्न म्युनिखबाट सिटी आएका ग्वार्डिओलाले  तीन इएफएल कप, दुई प्रिमियर लिग, दुई एफए कम्युनिटी शिल्ड र एक एफए कप जिताएका छन्। तर च्याम्पियन्स लिग जिताउन सकेका छैनन्।

प्रकाशित मिति: : 2020-11-20 07:33:00

प्रतिकृया दिनुहोस्