हजार सपानाहरुको माया लागेर आउँछ।
बाँच्ने रहर जस्तो फेरि भएर आउँछ।।
मोवाइलमा भक्तराज आचार्यको स्वर गुन्जिरहँदा चन्दननाथ- १० का सञ्जीव न्यौपाने गीतका प्रत्येक शब्दसँग आफ्ना जोवन तुलना गर्छन्। धेरै कुरा आफूसँग मेल खाएको पाउँछन्। उनलाई लाग्छ– आचार्यले त्यो गीत मेरैलागि गाइदिएका हुन्। भलै त्यो गीत रेकर्ड गर्ने बेला उनी जन्मेका थिएनन्।
गैरागाउँको खोलैखोल स्लो मोसनमा २० मिनेट उभो लागेर जंगलको बीचमा पुग्दा पर्यटकलाई लक्षित गरेर एउटा सानो गार्डेन निर्माण गरिएको छ।
तिहारअगाडि उनको सानो गार्डेनमा पुग्दा मन लोभिएको थियो। फूलहरु सबैतिर सुकिसकेको बेला, बजार पूरै प्लास्टिकका फूलले ढाकेर बेहुलीझैँ सिताराले सिँगारिको बेला, उनको गार्डेनमा हजारी फूल उस्यै (जस्ताको तस्तै) थिए। त्यहीँ भएको थियो- बिएल नेपाली सेवाका लागि कुराकानी।
*******
सञ्जीव रत्नचूडेश्वर माविका लेखापाल हुन्। स्कुलको भौचर काट्दा काट्दै, कागजपत्र आधा मिलाइ नसक्दै, हरहिसाब ठीक पार्दापार्दै, एसईई परीक्षाको तयारी पूरा गरेर घरमा आराम गर्ने बेला सरकारले कोरोना भाइरसको संक्रमण फैलन नदिन भनी लकडाउन घोषणा गर्योय।
'लकडाउन थपिदै गयो। बेकामे हुँदै गइयो। पुरानो अवस्थामा फर्किने सम्भावना बढ्यो,' उनले भने, 'त्यही बीचमा केही सृजनात्मक काम गर्न सके लग लागिएला भन्ने लाग्यो। १० वर्षदेखि बाँझो जमीनमा घरवरिपरि भएका फूलहरु संकलन गरेर लगाए। एउटा सानो 'गार्डेन' निर्माण गर्न सकियो। मन भुलाउन सकियो।'
उनको पुरानो अवस्था भनेको के हो? खुल्दुली लाग्न सक्छ। हामीलाई पनि लागेको थियो। सञ्जीवले आफैँलाई तेस्रो पुरुषमा बनाई जवाफ दिएका थिए।
********
बाल्यकालको सोझो सञ्जीव, स्कुलका मास्टरहरुको प्यारो थियो। पढाइलेखाइमा औसत थियो। बाआमाले गाली गरिहाल्ने नम्बर कहिल्यै ल्याएन। सबै सन्तुष्ट थिए।
यसरी चलेको केटाको एक उमेरमा पुग्दा निधारमा सानासाना दाना आउन सुरु भए। कतिले त्यसलाई डन्डिफोर भनेर नामाकरण गरे। कति 'कुर्कुरे बैँश' भन्न थाले।
डन्डिफोरभन्दा ठीक नलाग्ने उसलाई 'कुर्कुरे बैँश'भन्दा आनन्द लाग्न थाल्यो। शरीरमा काँउकुति लाग्न थाल्यो। भए-नभएका सोच आउन थाले। उत्तेजना बढ्न थाल्यो। मनमनै लजाउन थाल्यो।
साथीभाइबीच यस्तै कुरा चल्न थाले। सबैको उमेर उस्तै थियो। शायद्, गाइड गर्दिने र सम्झाउने 'लिडर' मिलेन। त्यसपछि फुक्काफुल केटाहरु निडर बनेर हिँडे।
केटाहरु हिउँदको घामजस्तै कहिले ओल्लो डाँडो त कहिले पल्लो डाँडो गर्न थाले। जसरी सूर्यलाई हत्केलाले छेक्न सकिँदैन, उसैगरी उनीहरुलाई रोक्न नसकिने भयो।
उनीहरु बिठ्याइ गर्न थाले। 'ज्ञ्याङ' बनाउन थाले। 'ज्ञ्याङ' फाइट उनीहरुको काइदा भयो। कतिलाई कुटेर अस्पताल पुर्याउने भए। कहिले आफैँ अस्पतालको बेडमा हुन्थे।
कुट्दा जेलमा र कुटाइ खाँदा बेडमा हुने काम एक पल्ट मात्र भएन। बाआमा आजित हुनेगरी भयो।
यस्तै बेला सञ्जीवलाई बाआमा आफ्नो पुरानो कुरा सुनाउथे तर बाआमाका पुरानो कुरा उसका उट्पट्याङजस्ता थिएनन्। त्यो उसको जीवन मरणसँग जोडिएको थियो।
सञ्जीव ६ वर्षको हुँदा तीनतल्ले घरको पाँडबाट डाँटिलसँगै खसेर टाउको थिचिएको थियो। दिशा खुस्किएको थियो। पिशाब छुटेको थियो।
धेरैले त्यसैबेला मर्यो भनी घोषणा गरेका थिए तर उनका बाआमाले छोरो मरेको देख्न चाहेका थिएनन्। त्यसैले 'बुलेट ट्रेन' झैँ हतारिएर ओछ्यान परेको छोरोलाई अस्पताल पुर्याएका थिए तर डाक्टरले झिनो आश देखाएर, यहाँ सकिँदैन नेपालगञ्ज लैजानुस् भनी 'रिफर' गरिदिए।
'सास छउन्जेल आश हुन्छ' भन्ने सोचेका बाआमा उँधो (नेपालगञ्ज) लिन हतारिए। बा प्लेनमा चडेर छोरोलाई लिइ माथिबाट उँधो लागे। आमाका आँसु तिला नदीको तिरैतिर कर्णालीमा मिसिएर उँधो लागे।
नेपालगञ्जमा पनि डाक्टरको 'कपि पेष्ट' आवाज सुनियो- यहाँ सकिँदैन काठमाडौं लैजाऊ। काठमाडौंले पनि त्यही बोल्यो, यहाँ सकिदैन लखनउ लैजाऊ।
बेहोशीमा देश चहारेको सञ्जीव विदेश जाने भयो। शायद्, आमाका आँशु उँधो बग्दै समुद्रमा मिसिन उही बाटो भएर गएका थिए। उसलाई लखनउ लगियो। लखनउमा लामो समयको उपचारपछि उसको होश आयो।
होश आउँदा उसका दाँयातिरको शरीर पूरै लाटो थियो। बोली बन्द थियो। छ महिनासम्म बोली फुटेको थिएन। छ महिना पुग्दा पनि आमाका आँखा ओभाएमा थिएनन्। आमाका आँसु जीउमा खस्दा सञ्जीव बोलेको थियो, आमा भनी।
त्यसपछि ऊ बोल्न थाल्यो तर आधा शरीर त उस्तै थियो। त्यही बीचमा उसले लेख्न सिक्यो। बाँया हात र खुट्टा चल्मलाए। बिरामी भएको एक वर्षपछि पूरै जीउ चलमलायो। ऊ उठ्यो। आमाले दिन रात नभनी राजा, देउता गरिराख्दा उसको प्राण जोगियो।
आमाले एकफेर फेरि आँशु खसालिन्। बा हाँसे, जग हाँस्यो तर बाआमाका पुराना कुराले उसलाई छोएन। झगडाले मात्तिएको ऊ रक्सीको तालमा रमाउन थाल्यो। त्यसपछि रक्सी झन्झन् बढ्न थाल्यो।
रक्सी नलागेको बेला आआफ्नै धुनमा प्रगति गरिरहेका साथिसंगी सम्झन्थ्यो, आफ्ना अवस्था महसुस गर्थ्यो। तनाव झन् बढेर आउँथ्यो, त्यो साँझ रक्सी झन् बढ्थ्यो।
सुरु-सुरुमा उसले रक्सी खायो, पछि रक्सी उसलाई खान कसिएको थियो तर आफ्नो मन भन्दा बलियो औषधि यो संसारमा के नै छ र ? उसले मनमनै वचन गर्यो । अब म रक्सी खान्न।
*******
त्यसपछि बदलिएको सञ्जीवसँग गार्डेनमा उभिएका थियौँ। उनी पुरानो अवस्थापछि वर्तमान अवस्थामा फर्किदा मंसिर लाग्ने बेला पनि हिमालमा फूल बचाइराखेको भेटियो।
लकडाउनको फुर्सदिलो समयमा उनले बाँझो जमिन राम्ररी उपयोग गरे। प्राकृतिक स्वरुप फेरबदल नगरिकन पहिला फूल आकारमा बारी खने। त्यो फूल माटोको भएको हुनाले सुगन्ध आएन तर माटोको सुगन्धमा फूलको सुगन्ध मिसाउने धुनमा उनी लागिरहे।
'स्कुल लागिजाला भन्ने सोच थियो। स्कुलमा सबै विद्यार्थीसँग सम्पर्क गरेर उनीहरुका घरमा भएका फरक-फरक फूलका बोट लाउँला सोचेको थिए,' उनले भने, 'स्कुल खुल्दै खुलेन। घरवरिपरि भएका र केही जंगली फूलहरुलाई समेत लगाए। यत्तिको गर्न सकियो।'
गार्डेनमा उनी पर्यटक भित्र्याउन चाहन्छन्। त्यसरी नै तयारी पनि गरेका छन्। पर्यटकको मुख मीठो गराउने गरी लागेका छन् तर उनी चाहँदैनन्- पर्यटकले बाहिरको खाना खुवाउन। त्यहीँ होटेल बनाउने सोच पनि छैन। घरमा पकाएको खाना दिन मन पनि छैन।
'प्रकृतिले दिएका फलफूल र आफूले रोपेका केही फलफूल खुवाउने हो,' उनले भने, 'जेठको दोस्रो सातादेखि माघसम्म सिजनअनुसार फरकफरक स्वाद दिने हो।'
त्यसका लागि गार्डेनको छेउछाउमा भएका काफल, अैंसेलु, मुसलगेडी, आर्याज, मेहेलजस्ता वनमा पाइने मीठा फलफूललाई संरक्षण गरिराखेका छन्। चुली, आरु, स्याउ, नास्पाति, ओखर लगाएका छन्।
बस्नलाई घाँस उमारेको माटोको सोफा छ। खुवाउनलाई सिम्पडी पातका टपरी आफैँ उम्रेका छन्। पछाडि लालीगुराँस रोपिएको छ भने अग्लो मेहेलको रुख, भ्यु टावर बनेको छ।
लगभग नौ महिना मीठा फलफूलको स्वाद लिनसकिने उनको बगैंचामा पुगेपछि फूलको बासनाले नाक चोख्याउन सकिन्छ।
उनी आउँदो वर्ष जिल्लाभरि भएका सबैखाले फूल रोप्ने योजनामा छन्। कति ठाउँमा उनले सम्पर्क पनि गरिसकेका छन्। झण्डै १५ सय वर्ग मिटर क्षेत्रफल भएको पूरै जमीनलाई फूलले सजाउने उनको धोको छ।
लकडाउन अवधिभरि उनले आफ्ना दुई छोराछोरीलाई त्यहीँ लगे। सल्लाका सिम्ताले क, ख, ए, बी, सी, डी, बनाए। सिकाए। नेपालको झण्डा बनाए। बालबालिकाले पनि केही सिक्न पाए।
साना बच्चादेखि ६० वर्षसम्मकालाई आफ्नो बगैँचाका पर्यटक बनाए। महत्त्वपूर्ण कुरा त आफ्नो पुरानो अवस्थाजस्तै वर्तमान अवस्था भोगिरहका साथिहरुलाई घुमाए।
उनको उद्देश्य थियो, यो अवधिमा उनीहरु पनि केही गरुन्। सृजनात्मक कदम चालुन् तर उनीहरुलाई त्यहाँसम्म पुगाउन निकै सकस भयो। पछि आइडिया निकाले खानपिनको कार्यक्रम गरेर बगैंचामा पुगाउनु पर्छ। त्यसपछिका दिनमा केही त्यस्ता साथिहरु पनि बगैंचाको पर्यटक बने।
यस्तो क्रम तिहार अघिसम्म भइरहयो। यसैबीच केही समयअघि हिमा गाउँपालिकाका इन्जिनीयर उनको गार्डेनमा पुगेका थिए। फूलको बासनामा मन्धमुग्ध भएका उनले डिजाइन दिएका छन्, अब गार्डेनको आकार हवाइजहाजको जस्तो देखिनेछ, जसले उनी बिरामी हुँदा बोकेको थियो।