खुलामञ्‍चको सट्टा थापाथलीमा निःशुल्क खाना वितरण गरिने

बिएल संवाददाता

काठमाडाै‌ं

कोरोना भाइरस संक्रमण रोकथामका लागि जारी गरिएको लकडाउनका कारण रोजगारी गुमाएर भोकै बस्नुपरेका मजदुर लगायत असहाय व्यक्तिहरूलाई बुधबारबाट परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथली नजिकै भोजन गराउने कार्य सुरु भएको छ।  

काठमाडौं महानगरपालिका र खुलामञ्चमा निःशुल्क भोजन गराउँदै आएका संस्थाहरुबीचको सहमति अनुसार नै उनीहरुलाई खान खुवाउन थालिएकाे हाे।

महानगरपालिकाका नगर प्रहरी प्रमुख धनपती सापकोटाका अनुसार महानगरपालिकाको पहलमा परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल नजिक लगि खानाको व्यवस्था गरिएको हो।

‘काम गर्न नसक्ने महानगरवासीको व्यवस्थापनमा महानगरपालिका निरन्तर लागिरहेको छ,’ सापकोटाले भने, ‘स्वास्थ्य जोखिम, संक्रमणको सम्भावना र सामाजिक प्रतिष्ठा तथा मानव अधिकारको संरक्षण गर्ने हेतुले सार्वजनिक स्थल, खुला क्षेत्रमा भोजन सेवा बन्द गरी वैकल्पिक स्थानमा भोजना गराउने नीति महानगरपालिकाले लिएको छ। हामी त्यसै अनुरुप यो पहल गरिरहेका छौँ।’

सापकोटाले अहिले पनि खुलामञ्चमा निशुल्क भोजन गराउँदै आएका संस्थाहरुबीचका निरन्तर छलफल भैरहेको भन्दै पार्टी प्यालेसजस्ता बन्द ठाउँमा व्यवस्थित ढंगले भोजन गराउने पहल भैरहेको जानकारी दिए।

‘निःशुल्क भोजनको गराउने स्थानमा शौचालय, पानीसहित स्वास्थ्य मापदण्डको समेत पालना गर्ने गरी थप पहल भैरहेको भन्दै अस्थायी रुपमा उक्त स्थानमा व्यवस्था गरेको छौं,’ उनले भने।

काठमाडौं महानगरपालिकाले खुलामञ्चमा खाना वितरण गरेकोप्रति आपत्ति जनाउँदै आएको थियो। तिहारपछि खुलामञ्चको सट्टा अर्को ठाउँमा खाना वितरण गर्ने सहमति महानगर र संस्थाहरूबीच भएको थियो।

यस्तै महानगरपालिकाले महानगरपालिका क्षेत्रभित्र रहेका असहाय, अशक्त तथा शारिरिक रुपमा काम गर्न नसक्ने महानगरवासीलाई महानगरपालिकाको सहकार्यमा संचालित मानव सेवा आश्रममा खान, वस्न तथा स्वास्थ्य उपचारको सुविधा उपलब्ध गराएको भन्दै त्यस्ता नागरिकलाई नजिकका वडा कार्यालय वा सिधैँ मानव सेवा आश्रममा सम्पर्क गर्न अपिल समेत गर्दै आएको छ। 

प्रकाशित मिति: : 2020-11-18 12:07:00

प्रतिकृया दिनुहोस्