भनाइ नै छ, सानाले बोले गफ हुन्छ, ठूलाले बोले उद्दहरण। यहाँ सानो भन्नाले पद नभएको भुइँमान्छे हो। यो पंक्तिकार देश नै छोडेर परदेश लागेको एक प्रतिनिधि भुइँमान्छे हो। तर, नागरिकता त्यागेर हैन, आफ्नौ देशमा दोस्रो दर्जाको नागरिक भएर बाँच्नुभन्दा अर्काको देशमा दोस्रो दर्जाको भएर बाँची हेरौ न भनेर। कसैले भन्ला पलायनवादी, उसलाई देशका बारेमा लेख्ने के अधिकार ? तर माफ गर्नुहोला, केही समयका लागि परदेश मात्र लागेको हो, मेरो देश त्यही नेपाल हो। केही समय परदेश लागेकै आधारमा मैले मेरो देशका बारेमा लेख्ने अधिकार कसैका नाममा राजीनामा गरिदिएको छैन।
मेरो जन्मदेशमा पार्टीको, त्यसमा पनि गुटको अझ भनौ कुनै एक नेताको खास मान्छे नभै योग्यताको आधारमा काम पाउँने मान्छे दिउँसै खोज्नुपर्छ। कोही अपवाद होला तर सत्तारूढ दलको चौवन्नी सदस्य नहुँदा त्यस्तो अपवाद पनि मेरो मुलुकले पाएको छैन। त्यही भएर मजस्ता लाखौ भुइँमान्छे परदेशिन बाध्य भएका छौं । रहरले हैन, कहरले।
अहिलेको झण्डै दुईतिहाइ बहुमतको ओलीतन्त्रको त कुरै नगरौ। यो तन्त्रमा ओली र उनको गुटमा रहेका नेताका मान्छेलाई बाँडेपछि उब्रेको मात्रै अरू गुटका नेताका मान्छेले पाउँने हो। फरक गुटका मान्छेले त पाउँने अवस्था छैन भने फरक विचारका मान्छेले पाउँने कुरा त लगभग असम्भव नै हो। ओलीको गुणगान गाउँनु नै अहिले नियुक्ति पाउनेको मूल योग्यता बन्छ। उदाहरण एक हैन, अनेक दिन सकिन्छ।
यो भुइँमान्छेले पटक पटक भनेको छ, समस्या ओलीमा छ। समाधान अरूतिरबाट खोजेर निस्कदैन। उनको सोच, कोण र दृष्टिकोण नै प्रगतिशील छैन, वामपन्थी त धेरै टाढाको कुरा भयो। जब कुनै वामपन्थी चरित्र त हुदैन भने कम्युनिष्ट चरित्र खोजेर कहाँ पाउँनु ?
तर, पनि केही मानिस उनमा महान कम्युनिष्ट चरित्र देखिरहेका छन्। त्यति मात्र हैन, उनको देवत्करण नै गरिरहेका छन्। तर, त्यो विवेक बोलेको हैन। पद र पैसा बोलेको हो। यी दुई नपाउँने कुनै विवेकशील प्राणीले ओलीको पक्षपोषण गर्न सक्दैन। कसैले गर्छ भने उसले ओलीको सक्कली रूप नै चिनेकै छैन।
यो भुइँमान्छेले त्यतिकै भनिरहेको छैन। उसले ओलीलाई नजिकबाट चिनेको छ। अझै पनि कोही भ्रममा छ भने समयक्रममा उनीहरूको भ्रमको जालो आफैं हट्नेछ। भनाइ नै छ, कि आफू सच्चिनुपर्छ, सच्चिएन भने समयले चड्कन लगाएर भए पनि सच्याउँछ। ओलीलाई बिगार्ने भनेका उनका जो जो म्यान हुन् । जो जो म्यानको कामै त्यही हो, जो पद र पैसाका लागि आफ्नो विवेक बन्दकी राखेर एम्पायर क्लथका लागि तयार हुन्छ।
ओली अहिले नेकपा भन्ने पार्टीका एक अध्यक्ष हुन्। यो पार्टी तत्कालिन नेकपा एमाले र नेकपा माओवादी एकीकृत भएर बनेको हो। यसका सहअध्यक्ष हैसियतका दुई अध्यक्ष भए पनि उनका अनुचरहरू एकनासले पार्टीका एक नम्बर अध्यक्ष भनिरहन्छन् उनलाई। भन्ने मात्र हैन, एक नासले लेख्छन् पनि। ओली स्वयंले दावी गरेका छन्, यो पार्टी उनले नै बनाएका हुन्। एकताको सूत्रधार मात्र हैन, योजनाकार, मार्गनिर्देशक पनि उनै हुन्। उनको कुरा सुन्दा लाग्छ, उनले जे भन्छन्, त्यही नै पार्टीको नीति हो, त्यही नै निर्णय पनि हो। उनीमाथि कसैले प्रश्न उठाउनै पाइदैन।
यही दम्भका साथ अहिले उनी प्रधानमन्त्री छन्। उनी सिधै भन्छन्, पार्टी नै म हुँ। मलाई जनताले प्रधानमन्त्री चुनेका हुन्। त्यसैले राजीनामा दिने कुरै आउँदैन। मानौ यो निर्दलीय व्यवस्था हो र उनी कार्यकारी प्रमुखका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुन्। त्यस्तो हैन, यथार्थमा उनी कार्यकारी सरकार प्रमुखका विरोधी हुन् र उनकै कारणले नेपालमा वेस्ट मिनिस्टरियल टाइपको संसदीय व्यवस्था कायम भएको हो। जतिबेला नेपालमा संविधान जारी भएको थियो, त्यतिबेला उनी गत आमनिर्वाचनको बेला जति लोकप्रिय भएको भए नेपालले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख पाउँने थियो।
यतिबेला नेकपा फुटको संघारमा छ भनिएको छ। यो भुइँमान्छेको प्रश्न छ, जोडिएको भए पो फुट्नु ? फुटेकै त छ। तर पनि उनीहरूलाई जुटेको जस्तो लागेको छ भने यो पार्टी फुटेकै राम्रो। यो ओलीलाई प्रधानमन्त्री र भण्डारीलाई राष्ट्रपति बनाउने ओली उद्देश्यका साथ जुटेको थियो, त्यो उद्देश्य पूरा भैसक्यो। प्रचण्डलाई तम् शरणम् बनाएर माओवादीलाई कमजोर बनाउनु थियो, त्यो पनि भैसक्यो। अब के का लागि यो एकता चाहियो र ?
नेपालमा यो एकता भएर लोकतन्त्रका ठाउँमा ओलीतन्त्र आयो। यो तन्त्रले मूलत: दुईवटा अक्षम्य अपराध गरेको छ। पहिलो, यसले नेकपालाई कम्युनिष्ट पार्टी नै बन्न दिएन, कम्युनिष्ट पार्टीको ब्राण्डमा भाष्य नै परिवर्तन गरेर कम्युनिज्ममाथि आघात पुर्याउने नितान्त व्यक्तिवादी काम भयो।यो ब्राण्डमा सोझासाझा, कामकाजी र वर्गीय रूपमा पिंधमा रहेका नेपालीको भावनामाथि खेलवाड गरियो। दोस्रो, यसले नेपालमा बहुमतको सरकार पनि अभिषाप हुन्छ भन्ने गलत नजीर बसाइ दियो।
यो अपराधका सबैभन्दा प्रमुख कसुरदार ओली हुन्। त्यसैले अब ओलीतन्त्रको अन्त हुन जरूरी छ। त्यसका लागि यो पार्टी फुट्न जरूरी छ। नेपाल र नेपाली जनताको भलाइका लागि नै यो फुट्न जरूरी छ। किनकि, यो पार्टी अब नेपाल र नेपाली जनताका लागि समाधान हैन, समस्या हो। यो एकताले केही लोभीपापीलाई पद र पैसा दिएको छ, त्यो बाहेक केही दिएको छ।
यो एकताबाट सबैभन्दा बढी लाभान्वित भएका दुई पात्र ओली र भण्डारी हुन्। यदि यो एकता नभएको भए यी दुईलाई रजाइ गर्ने मौका मिल्दैनथ्यो। उनीहरूले मौका पाउँदा उनका अनुचरहरूले मौका पाए। अहिले विवेक गुमाएर जाइलागिरहेका छन्। ओली र उनको गुटका मान्छे भरिएर बाँकि रहेका ठाउँमा अन्य गुटकाले ठाउँ पाएका छन्। ती पनि आफ्नो पूर्वगुटको कोटामा त्यहाँ पुगेर ओलीलाई नै बलियो बनाइरहेका छन्।
यी पंक्ति लेखिरहदा नेकपा सचिवालय बैठकको रोइलो चलिरहेको छ। बैठकमा छलफलका लागि यस्तो राजनीतिक प्रतिवेदन प्रस्तुत गरिएको छ, त्यो एक किसिमको ओलीविरूद्धको महाअभियोग हो।र, सचिवालयको अंकगणितले त्यो पारित हुने अवस्था छ। त्यो अवस्थामा ओली एक खलपात्रका रूपमा दर्ज हुनेछन्।
ओलीको बानी नै हो, पहिला थर्काउने, थर्किएन भने आफैं थर्किने। यसअघि उनको थर्काउने पाराले काम गरेको थियो तर त्यसपटक त्यसले काम गरेन। अब उनी थर्किने अवस्थामा पुगेका छन्। यस्तो अवस्थामा उनले प्रयोग गर्ने भनेका भण्डारी र यान्छी थिए। यसपटक रअ प्रमुखले बालुवाटार पसेर यान्छी पनि टाढा बनाइदिए। भण्डारीले संवैधानिक प्रमुखको जामा फुकालेर नेकपाका नेतालाई शीतलनिवासमा 'स्वागत' गरे पनि, त्यसले कुनै पारा देखाएन।
यतिबेला नेकपा फुटको संघारमा छ भनिएको छ। यो भुइँमान्छेको प्रश्न छ, जोडिएको भए पो फुट्नु ? फुटेकै त छ। तर पनि उनीहरूलाई जुटेको जस्तो लागेको छ भने यो पार्टी फुटेकै राम्रो। यो ओलीलाई प्रधानमन्त्री र भण्डारीलाई राष्ट्रपति बनाउने ओली उद्देश्यका साथ जुटेको थियो, त्यो उद्देश्य पूरा भैसक्यो। प्रचण्डलाई तम् शरणम् बनाएर माओवादीलाई कमजोर बनाउनु थियो, त्यो पनि भैसक्यो। अब के का लागि यो एकता चाहियो र ?
यस बीचमा ओलीले नेपाल र गौतमलाई विभिन्न पदका लागि उधारो घाँस पनि देखाए। तर यसपकट उनको टाट्नामा कोही जान तयार भएन। उनलाई गौतम त उपप्रधानमन्त्रीको घाँसमा लोभिन्छन् भन्ने लागेको थियो तर उनले पनि यसपटक मुण्टो बटारे। उनकोे तयार पारेको नेपाल-घाँस र गौतम-घाँस टाट्नामै सुकिरहेको जस्तो देखिन्छ।
अब के हुन्छ त ? यस प्रश्नको उत्तर यसअघिको नजीर हेर्यो भने फेरि पनि टालटुले नै आउँछ। फेरि पनि ओलीले केही उधारो दिनेछन्, त्यही उधारोमा काम चल्नेछ। किनकि, यो लोभी पापीको झुण्ड हो। यदि हैन भने त्यति धेरै आरोप प्रत्यारोप गरिसकेपछि पनि कसरी एउटै पार्टी हुन्छ र त्यसको नेता हुँ भनेर बसिरहनु ? हुनसक्छ, यसपटक त्यस्तो नहुन पनि सक्छ। लोकलाजका लागि पनि अब त त्यसो नगर्नुपर्ने हो। तर, यो मूल्य, मान्यता र सिद्धान्तमा आधारित पार्टी र नेतृत्व भन्दा पनि पद र पैसामा गएर अड्किएको प्रेमपिण्ड भएकाले वार कि पार हुने सम्भावना कमै छ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भनिएको पार्टीको रोइलो देखेर जनता आजित भैसके, पार्टीका पद नपाउँने नेता कार्यकर्ता पनि वाक्क भैसके। अब त यस्तो लाग्न थालिसक्यो कि यो पार्टी जति सक्दो चाँडो फुट्छ, त्यति नै चाँडो नेपाल र नेपालीको अगाडिको राजनीतिक मार्गप्रशस्त हुने छ। कम्युनिष्ट नामको यो गरैकम्युनिष्ट चरित्रको आहाल फुट्यो भने अर्को बाँध बन्ने बाटो खुल्नेछ।
यो पंक्तिकार व्यक्तिमा हैन, पार्टीमा विश्वास गर्छ। प्रचण्डका हजार अवगुण होलान् तर अहिलेका लागि उनी पार्टी पद्धतिको कुरा गरिरहेका छन्। त्यसैले उनलाई एकपटक शंकाको सुविधा दिनुपर्छ। आजको दिन आउन नेपालमा ओलीको भन्दा हजार गुणा योगदान प्रचण्डको छ। आजको दिन सही हो वा या गलत, त्यो आआफ्नो दृष्टिकोणको कुरा हो। ओलीतन्त्रबाट आजित भएर मानिसहरू आजको दिनलाई बेठीक नभने पनि हिजोको दिनसँग तुलना गर्न थालेका छन् । त्यस्तो ठाउँ दिनमा भण्डारी-ओलीको अहम् योगदान छ। त्यसैले पनि ओलीतन्त्र जतिसक्दो चाँडो जान्छ, त्यति नै लोकतन्त्रको कम हानी हुन्छ।
लोकतन्त्र ईश्वर पोखरेल र शंकर पोखरेलका गाला चिल्ला बनाउनका लागि मात्र हैन, यो दिन ल्याउन योगदान गरेका ख्याउटे अनुहारमा उज्यालो भर्न पनि हो। यी पोखरेलद्वय ओलीतन्त्रमा जनता ख्याउटे भइरहदा पनि बिना कारण गाला चिल्ला बनाउने शासकका प्रतीक हुन्। कसैलाई बढी लाग्छ भने यी महोदयका तीन वर्ष अघि र अहिलेका गाला तुलना गर्नुहोस्। आखिर जनता पीडामा हुँदा यिनीहरूलाई मात्र कुन त्यस्तो सन्तोष मिल्यो जसले यिनका गालालाई त्यो कोरामिन देओस् ?
बिट मार्दामार्दै, अझै पनि धेरैलाई लागेको हुन सक्छ, नेकपा एकीकृत पार्टी हो। झण्डा र चुनाव चिन्ह एउटै हुँदा धेरैलाई यस्तो लाग्नु स्वभाविक पनि हो। तर, यथार्थमा यो गुटहरूको गठजोड हो। कुनै मूल्य, मान्यता र सिद्धान्तका आधारमा हैन, पद र पैसाले बेरिएका स्वार्थहरूको लागि गरिएको गठजोड । कम्युनिज्म, समाजवाद, साम्यवाद, सामाजिक न्याय, समतामुलक समाज यी त सबै भन्ने कुरा मात्र हुन्।
(यो लेखकको निजी विचार हो । यसमा ब्रेक एन लिंक्स निरपेक्ष छ ।- सम्पादक)