कोरोना जोखिम नभएका क्षेत्रमा विद्यालय खोल्न दिने सरकारको निर्णय

थाहा खबर

काठमाडाैं

काठमाडौं : सरकारले कोरोना जोखिम नभएका र जोखिम कम हुँदै गएका जिल्लाका विद्यालयहरू आलोपालो सिफ्ट  प्रणालीबाट खोल्न दिने निर्णय गरेको छ। लामो समयदेखि स्कुल बन्द हुँदा पठनपाठन प्रभावित हुन थालेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘विद्यालय सञ्चालनसम्बन्धी कार्याढाँचा २०७७’ जारी गरी स्थानीय तहमार्फत विद्यालय सञ्चालन गर्न स्वीकृति दिएको हो।

कार्या ढाँचामा स्कुल सञ्चालनको जिम्मा स्थानीय तहले पाएको छ। ‘मन्त्रिपरिषदको मिति २०७७/६/२२ को निर्णयबाट कोभिड–१९ को जोखिम नभएका र जोखिम कम हुँदै जाने स्थानीय तहमा आलोपालो सिफ्ट लगायतका उपयुक्त मोडालिटी अपनाई विद्यालय पठनपाठन  सञ्चालन गर्न गराउन सैद्धान्तिक स्वीकृति दिइएको छ’ कार्या ढाँचामा भनिएको छ।

मन्त्रालयले विद्यालय सञ्चालन र २०७६ चैत्रमा स्थगित  भएको माध्यमिक शिक्षा उतीर्ण परीक्षा(कक्षा १२)को पूर्णरूपमा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी विधि,पद्धति  र प्रक्रिया र अन्य आवश्यक व्यवस्था मिलाई सञ्चालन गर्न पनि कार्यढाँचामार्फत अनुमति दिएको छ।

कार्याढाँचाअनुसार विद्यालय बन्द गर्ने अवस्था आएमा विद्यालयले बन्द गर्नुपर्नेछ। विद्यालय सञ्चालन गर्नुपूर्व अघि जनप्रतिनिधि,शिक्षाविद,शिक्षक, प्राध्यापक स्कुलको छाता संगठनका पदाधिकारी,अभिभावक संघले समिक्षा गर्नुपर्ने छ। स्कुल सञ्चालनको लागि विद्यालयले कुन मोडालिटीबाट चलाउने भनी स्थानीय तहमा प्रस्ताव माग गर्नुपर्ने छ। 

प्रकाशित मिति: : 2020-11-17 14:09:00

प्रतिकृया दिनुहोस्